Breaking News
सभामुख सापकोटा विशेषाधिकार प्रयोग गर्नेबारे विज्ञहरुसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अप्रत्यासित रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेपछि सभामुख अग्नि सापकोटा सिंहदरबारमा नेताहरुसँग छलफलमा जुटेका छन् ।
सभामुख निकट स्रोतका अनुसार उनले संसदमा रहेका दलहरु, संविधानका विज्ञ र सांसदहरुसँग छलफल गर्दैछन् । ‘संसदमा रहेका दलहरु र बहुमत सांसदहरु संविधानको धारा १०३ प्रयोग गरौं भन्दै आए भने के गर्ने भनेर सभामुख विज्ञहरुसँग छलफलमा हुनुहुन्छ’, सचिवालय स्रोतले भन्यो ।
संविधानको धारा १०३ मा संसदको विशेषाधिकार सम्बन्धी व्यवस्था छ ।‘यस संविधानको अधिनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन’, संविधानको धारा १०३ को उपधारा २ मा भनिएको छ ।
सभामुखले संविधानमा उल्लेखित विशेषाधिकार प्रयोग गर्न सक्ने वा नसक्ने, कुन अवस्थामा सक्ने वा सभामुखले यो अधिकार प्रयोग गरेर अधिवेशन नै आह्वान गरेको अवस्थामा अदालतमा मुद्दा परे के हुन्छ ? भन्ने जस्ता विषयलाई सभामुखले विशेष चासो राखेर संविधानविद, कानुनविदहरुसँग छलफल गरिरहेका छन् ।
संसद भंग गरेका प्रधानमन्त्रीको अध्यक्षतामा केही दिनअघि बसेको संवैधानिक परिषद् बैठकले ४५ वटै संवैधानिक पदहरुमा नियुक्ति पनि गरेका छन् ।
























