Breaking News

ओली–प्रचण्डलाई कृष्णभक्त पोखरेलले भनेः तपाइँहरु मिल्नुस्, हामी एक मिनेटमा मिल्छौं

Banner

हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, पुस ४-  

प्रतिनिधि सभा सदस्य एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा) का नेता कृष्णभक्त पोखरेलले नेतृत्व मिलेमा तलतलका कार्यकर्ताहरुको मन एक मिनेटमै मिल्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भरतपुर महाननगरपालिका वडा कमिटी– ११ द्वारा आयोजित टेलिफोन डायरी विमोचन एवम् अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘तपाइँहरु माथिमात्र मिल्नु भयो भने तलतलका कार्यकर्ताको मन त हाम्रो एक मिनेटमै मिल्ने अवस्थामा छ । तपाइँहरु एकताबद्ध भएर आएको हामी छिटो हेर्न चाहन्छौं । महाधिवेशनको मिति छिटो तोक्नुस्’ उनले अध्यक्षद्वयलाई आग्रह गर्दै भने ।

पार्टी फुट्ने कुरा सुन्न परिरहँदा सबैको मन दुखेको बताउँदै उनले पार्टीलाई कुनै पनि हालतमा फुट्न दिन नहुने बताए । तलका कार्यकर्ता एकजुट रहेको र पार्टी फुट स्वीकार्न नसक्ने सन्देश दिएर पार्टी एकतालाई जोगाउनु पर्ने उनले बताए । तलतलका कार्यकर्ता एक भएमा भने नेतृत्वलाई मिल्न बाध्य पर्ने भन्दै उनले सबै कार्यकर्तालाई एक भइरहन आग्रह गरे ।

आकस्मात रुपमा पार्टी एक बनाउने निर्णय गरेका नेताहरु नै अहिले झगडा गरेर पार्टी पुनः फुटाउने जस्ता कुरा गर्नु दुःखद भएको उनले बताए । जनताले कम्युनिस्टलाई विश्वास गरेर दुईतिहाई नजिक मत दिएको बताउँदै उनले आफूहरु परीक्षामा रहेको बताए । यो परीक्षामा फेल भएमा कम्युनिस्टहरुले कम्पार्ट दिने अवसर नपाउने उनको दाबी थियो । कम्युनिस्ट एक पटक सकिएपछि विश्वका अन्य देशमा कहिल्यै नफर्किएको उदाहरण दिँदै उनले नेपाली कम्युनिस्टहरु पास हुने गरी काम गर्नुपर्ने बताए ।

सकेसम्म सहमति नभए बहुमतले भनेको कुरा मान्नु पर्ने र अल्पमतको पनि कदर गर्दै अघि बढ्न उनले नेतृत्वलाई आग्रह गरे । हिजोका महाधिवेशनका पदहरुको कुरा गर्नु औचित्य नभएको बताउँदै उनले एकताका लागि धेरैले पद गुमाएको सम्झेर हालका शीर्ष नेताहरुले पार्टी एकतालाई जोगाउनु पर्ने विचार राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>