Breaking News
११ हजार चेपाङ बसोबास गर्ने इच्छाकामनामा अस्पताल निर्माणका लागि वजेट अभाव

चितवन,पुस २-
इच्छाकामना गाउँपालिकामा निर्माण थालिएको अस्पताललाई बजेट अभाव भएको छ । गाउँपालिकाको वडा नं ४ कुरिनटारमा अस्पताल निर्माण थालिएको छ । गाउँपालिका अध्यक्ष गीता गुरुङका अनुसार सङ्घीय सरकारबाट सहयोग हुने अपेक्षासहित अस्पताल भवन निर्माण थालिएको हो । चालू आर्थिक वर्षमा गाउँपालिकाले रु ७० लाख अस्पतालका लागि बजेट विनियोजन गरेको छ । बजेट पाएमा अर्को वर्ष अस्पताल बनिसक्छ । गुरुङले भन्नुभयो, “सुविधा सम्पन्न २५ श्ययाको अस्पताल सम्पन्न गर्न रु १० करोड खर्च हुन्छ ।” सरकारले ३९६ पालिकामा एकैदिन अस्पताल शिलान्यास गर्दा आफ्नो गाउँपालिका त्यसमा नपरेकामा दुःख प्रकट गर्दै सङ्घीय सरकारले बजेट दिनेमा आफू आशावादी रहेको गुरुङको भनाइ छ ।

उहाँका अनुसार यस अस्पतालले इच्छाकामनासहित गोर्खाको गण्डकी र शहीद लखन, तनहुँको खैरेनी र धादिङको रोलाङ गाउँपालिकाका जनतालाई सेवा दिनसक्छ । इच्छाकामनामा २७ हजार जनसङ्ख्या रहेको छ जसमध्ये ११ हजार चेपाङ छन् । यसको अधिकांश भूभाग ग्रामीण क्षेत्रमा छ । काठमाडौँ भित्रने र बाहिरीने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड यसै क्षेत्रमा भएकाले सवारी दुर्घटनाका घाइतेलाई उपचार गर्नसक्ने गरी अस्पताल बनाउन लागिएको जनाइएको छ । उहाँले भन्नुभयो, “यस क्षेत्रमा सुविधा सम्पन्न अस्पतालको आवश्यक छ ।” यहाँका सर्वसाधारण उपचारका लागि भरतपुर, काठमाडौँ र पोखरा जान बाध्य छन् । गाउँपालिकाबाट सदरमुकाम भरतपुर पुग्न ६० किलोमिटरसम्म यात्रा गर्नुपर्छ । गाउँपालिकामा हाल चार बर्थिङ सेन्टर र सात स्वास्थ्य चौकी सञ्चालनमा छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति, योजना, अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीले यस वर्ष शिलान्यास नभएका पालिकामा अर्को वर्ष अस्पताल थालिने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले सबै पालिकामा पाँच वर्षभित्रमा अस्पताल बनाइसक्ने लक्ष्य लिएको छ ।” इच्छाकामना गाउँपालिकामा अस्पताल बनाउन आगामी वर्ष बजेट विनियोजन गर्न सकिने उहाँले जानकारी दिनुभयो । आवश्यक प्रक्रिया गाउँपालिकाले पूरा गर्नुपर्ने उहाँको भनाइ छ । जिल्लामा सात वटा पालिका छन् जसमा एउटा महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका हुन् । रासस
























