अन्तर्वार्ता

सस्तो र भरपर्दाे भएकोले चितवनमा एएसी ब्लकको माग बढ्दो छ: व्यवसायी लम्साल

Banner

युवा व्यवसायी रामचन्द्र लम्साल चितवनको व्यवसायिक क्षेत्रमा चिरपरिचित नाम हो । ३४ वर्षीय लम्साल रेडी प्लास्ट उद्योगका प्रवन्ध निर्देशक हुन् भने भरतपुरको न्यु आरम्भ सप्लायर्सको सञ्चालक पनि हुन् । व्याडमिन्टन खेल्न र समाजिक सेवामा रमाउने उनले भरतपुरको सप्तगण्डकी चोकमा महिलाहरुको लागि उजेली शपको पनि स्थापना गरेका छन् । त्यस्तै रोटरी क्लब नारायणी मिड टाउनमा आवद्ध भएर विभिन्न सामाजिक सेवामा सहयोग पनि गरिरहेका छन् ।

माडीमा जन्मिएका लम्सालले सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरबाट बीएड पूरा गरेपछि व्यापारको क्षेत्रमा प्रवेश गरे । सुरुमा बीरगञ्जमा उद्योग रहेको एएसी ब्लकको आधिकारिक बिक्रेताको रुपमा काम सुरु गरेका उनले ब्लकको उत्पादनबारे सबै जानकारी भएपछि आफैँले झण्डै पाँच करोड लगानी गरे ब्लकलाई चाहिने कच्चा पदार्थ एएसी मोटारको उत्पादन सुरु गरे । कुनै बेला विदेशी कम्पनीको भर पर्नुपर्ने मोटारको उत्पादन अहिले स्वदेशी उत्पादन बढ्न थालेपछि पूरै सामानको आयात बन्द भएको छ । विभिन्न क्षेत्रमा लगानी गरेका उनै सफल व्यवसायी रामचन्द्र लम्सालसँग नारायणी अनलाइनले व्यवसायिक वार्ता गरेको छ । प्रस्तुत छ वार्ताको सम्पादित अंश :
 एएसी ब्लकको विशेषता के के हुन् ?

एएसी ब्लकको फ्याक्ट्री वीरगञ्जमा रहेको छ । जुन जर्मन प्रविधिद्वारा बनेको नेपालकै पहिलो ब्लक उद्योग हो । यो ब्लक हल्का र नतात्ने हुन्छ । चितवन जस्तो गर्मी ठाउँमा यस ब्लकको प्रयोग गरेको घर धेरै शीतल हुन्छ । खर्च पनि यसको कम पर्छ भने गारो लगाउँदा बालुवा र सिमेन्टको पनि आवश्यकता पर्देन । चार कोठाको घर बनाउँदा एक लाख १० हजार रुपैयाँ जति लाग्ने भएकोले इँटाको तुलनामा कम नै हुन्छ ।
यो ब्लकलाई कुनै पनि आवासीय, व्यवसायिक, औद्योगिक भवन तथा पर्खाल निर्माणको लागि आधुनिक युगको सुरक्षित निर्माण भनिएको छ । भूकम्प प्रतिरोधी यो ब्लक चिसोमा तातो र तातोमा चिसो बनाउने माटोको घर जस्तै उपयुक्त गुण हुन्छ । यसलाई वातावरण मैत्री ब्लक पनि भन्ने गरेको छ । यसबाट हिटर तथा एसीको बचत हुन्छ भने साउण्ड प्रुफ पनि त्यत्तिकै हुन्छ । संरचना निर्माण गर्दा छोटो समयमा तयार हुने भएकोले मिस्त्री खर्च घट्ने यो ब्लकको फाइदा छ । यसमा अग्नि प्रतिरोधात्मक क्षमता पनि छ भने यसबाट टुक्रा पर्ने, फाल्नुपर्ने हुँदैन । त्यसकारण पनि यस ब्लकको माग बढ्दै गएको छ ।

 यस क्षेत्रमा लाग्ने प्रेरणा कसरी पाउनु भयो ?

बीरगञ्जमा एएसी ब्लक उद्योग खुलेको थाहा पाएपछि के रहेछ भन्ने बुझ्न गएको थिएँ । यसको सबै फाइदा थाहा पाएपछि सुरुमा भरतपुरको एयरपोर्ट अगाडि न्यू आरम्भ सप्लायर्स खोलेर यसको आधिकारिक बिक्री सुरु गरेँ । पछि यसका लागि आवश्यक कच्चा पदार्थ मोटार भारतबाट आयात गर्नुपर्ने थाहा पाएपछि यसको बिक्री सँगै एएसी मोटार उद्योगतिर पनि आफूलाई अगाडि बढाए । यसरी मेरो व्यवसायिक यात्रा सुरु भयो ।

 तपाइँको मोटारको उद्योग कहाँ छ र यसको व्यापार कस्तो छ ?

यस उद्योग भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा रहेको छ भने यसको व्यापार नेपाल भरी नै हुने गर्छ । यसको बोरामा ४० केजी हुन्छ र जसको होलसेल मूल्य एक हजार ८०० जति पर्छ । सबैतिर ब्लक प्रयोग गर्ने प्रचलन बढ्दै गएकोले मोटारको प्रयोग पनि बढ्दै गएको छ । नेपालमा दैनिक १५ गाडीदेखि २० गाडीसम्म बिक्री हुन्छ । १० वटा इटा भट्टा बराबर फ्याक्ट्रीले उत्पादन गर्छ । उद्योग पूर्णतया वातावरण मैत्री हुन्छ ।

उद्योगमा कति कर्मचारी कार्यरत छन् ?

उद्योगमा १२ जना कर्मचारी कार्यरत छन् । यसलाई आवश्यक पर्ने कच्चा पदार्थ चीन र युरोपबाट मगाउनुपर्छ ।

लकडाउनले तपाइँको व्यवसायमा कस्तो असर गर्‍यो ?

सुरुमा बन्द नै भयो । पहिलेको तुलनामा ५० प्रतिशत पनि छैन । अहिले एक डेढ महिनादेखि व्यापारले गति लिन थालेको छ ।

धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>