Breaking News

राप्रपाले दुई तिहाई ल्याए देश रामराज्य बन्छ: विक्रम पाण्डे

Banner

हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, पुस १ –

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वमन्त्रि विक्रम पाण्डेले राप्रपाले दुई तिहाई ल्याए देशलाई रामराज्य बनाउने दावी गरेका छन् ।
आज (बुधबार) पार्टी कार्यालयको प्राङ्गण भरतपुर, चितवनमा आयोजित पार्टीको झण्डात्तोलन तथा चुनाव चिन्ह ‘हलो’ अनावरण एवं बधाई सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सनातन हिन्दु राज्य सबैले मान्न सक्ने । सबै अटाउन सक्ने । सबै धर्मलाई समान दृष्टिले हेर्न सक्ने । हिन्दुराष्ट्र फिर्ता ल्याउनु पर्ने भएको छ’ उनले भने ‘त्यस्तो अभिभावक र त्यस्तो राष्ट्रध्याक्षको यो देशमा खाँचो छ । यो नेपाली जनताले चाहेका छन् । यसकालागि राप्रपाले दुई तिहाई बहुमत ल्याउनु पर्छ ।’

राप्रपाले दुईतिहाई ल्याएमा देश रामराज्य बन्ने दावी गर्दै उनले राप्रपा आएपछि फेरि यो देश विदेशीको अगाडि झुक्नु नपर्ने र छिमेकीको आगाडि यति धेरै लाचारी पनि बन्नु नपर्ने दावी गरे । सर्वहाराको पार्टी भनेर चिनिएको कम्युनिष्ट पार्टी नै सत्तामा हुँदा पनि सुकुमबासीहरुले लालपुर्जा नपाउनु दुःखद भएको उनको भनाइ छ । ‘कम्युनिष्ट सरकारमा हुँदा पनि सुकुमबासीहरुको लालपूर्जा समस्या समाधान भएको छैन । यिनीहरुले सुकुम्बासीहरुलाई लालपुर्जा नदिई आफ्नै नाममा बनाउने जाल बुनिरहेको पनि हुन सक्छन् । चारैतिर लुट नै लुट छ’ उनले आक्रोश पोख्दै भने ।

गरिबको पार्टी भनेर प्रचार गरिएको कम्युनिष्ट पार्टी सरकारमा भए पनि देश विकास नभएको उनले बताए । उनले भने ‘हामीले एक पटक सांसद र मन्त्रि हुँदा यो देशमा धेरै विकास भएको छ । अहिले वडादेखि केन्द्रसम्म नेकपाको एकछत्र राज हुँदा पनि हामीले गरेको १० प्रतिशत पनि काम गर्न सकेका छैनन् । यो सबैलाई थाहा छ । जनतालाई थाहा छ ।’

उनले कम्युनिष्ट पार्टीभित्र अहिले लुटन नपाउँदा झगडा भएको आरोप समेत लगाए । ‘कुनै दिन गरिब जनताको झुपडी बनेन् भन्न्ने विषयमा झगडा छ ?’ उनले प्रश्न गर्दै भने ‘अब तैंले लुटेर भयो । मलाई लुटन पालो दे भनेर झगडा भइरहेको छ ।’

पार्टी एकता सम्बन्धि कुरा गर्दै उनले चुनाव चिन्ह हलो र झण्डा गाई हुँदा राप्रपामा सबै सन्तुष्ट भएको बताए । उनले अब यो पार्टी झण्डा, चुनावचिन्ह, सिद्धान्तका नाममा कहिल्यै नफुट्ने दाबीगर्दै राप्रपामा लागेका कार्यकर्ताहरुलाई सक्रिय रुपमा काम गर्न आग्रह गरे । उनले काम नगर्नेलाई पार्टीबाट निष्काशित गर्ने चेतवानी पनि दिए ।

कार्यक्रममा राप्रपाका विभिन्न नेता कार्यकर्तालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा राप्रपाका उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य ऋषिबाबु परियार, सचिवालय सदस्य रामशरण पाठक, राप्रपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिना गुरुङ, केन्द्रीय सदस्य रामहरी कँडेल, पवित्रा जोशी, मीना न्यौपाने, विष्णु खरेल, दिलिप पाण्डे, विजेन्द्र पाठक, अमर केसी, शिवकुमारी सुवेदी, सुरज न्यौपाने लगायतका सहभागि थिए ।

कार्यक्रम राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालको अध्यक्षतामा भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>