Breaking News

चितवनमा ३१ लाख बढी मूल्यको अवैध औषधि बरामद, ८ जना पक्राउ

Banner

चितवन, पुस १–

जिल्ला प्रहरी कार्यालय चितवनले लाखौं मुल्य बराबरको अवैध औषधि बरामद गरेको छ । जिल्लाको माडी नगरपालिकाको विभिन्न ठाउँबाट ३१ लाख ५ हजार ६३३ रुपैयाँ बराबरको अवैध औषधि प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधबार) पत्रकार सम्मेलन गरी बरामद गरिएका औषधि र अवैध कार्यमा संलग्न ८ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले उनीहरुलाई विभिन्न मुद्धा अन्तरगत अनुसन्धान भइरहेको जानकारी दिए । उनले यस्ता प्रकारका औषधिहरु नेटवर्किङ धन्दामा प्रयोग गर्ने गरिएकाले सोही अनुरुप उनीहरुमाथि अनुसन्धान गरिरहेको बताए । औषधि बारे अनुसन्धानका लागि भने औक्षधि व्यवस्था विभाग पठाइने जानकारी दिए ।

मंसिर ३० गते विहान ८ः४० बजेको समयमा इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको टोलीले माडी नगरपालिका–९ सोमेश्वरमा माडीतर्फ आउँदै गरेको ना ४ ख ४४२५ नम्बरको गाडीलाई रोकेर चेकजाँच गर्दा अवैध औक्षधि बरामद गरेको थियो । गाडीको डिक्कीमा लुकाएर राखिएका विभिन्न प्रकारका औषधि फेला परेपछि चालक राजकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

सोही क्रममा माडी नगरपालिका–३ बस्ने बालकृष्ण महतो र मिलन महतोको घरमा लुकाइ राखिएको अवस्थामा पनि विभिन्न किसिमका औषधिहरु प्रहरीले फेला पार्न सफल भएको थियो । प्रहरीले अनुसन्धानको क्रममा औषधि ओसारपसार कार्यमा संलग्न चितवनको कालिका नगरपालिका–४ का २८ वर्षीय राजकुमार महतो, माडी नगरपालिका–३ बघौडाका २२ वर्षीय बालकृष्ण महतो, सोही स्थानका २२ वर्षीय मिलन महतो, कालिका–३ का ३१ वर्षीय हरिशरण महतो, मकवानपुरको गढी गाउँपालिका–८ का २५ वर्षीय सुरज गौतम, गढी–३ का २३ वर्षीय प्रकाश दाहाल, हेटौंडा उपमहानगरपालिका–५ का २५ वर्षीय उज्जवल पोख्रेल र वडा नं.२३ का २३ वर्षीय विपिन सापकोटालाई पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले आज (बुधबार) विहान मात्रै पनि माडी नगरपालिका–९ बगही खोला किनारको झाडीमा बेवारिसे अवस्थामा रहेका ७ प्रकारका औषधि पनि बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरुसंग बरामद गरिएका र बेवारिसे फेला परेका औषधि गरी कुल ३१ लाख ५ हजार ६३३ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

आयुर्वेद चिकित्सकका अनुसार ती बरामद गरिएका औषधिहरु सरकारले प्रतिवन्ध लगाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>