Breaking News
सभामुख नगएपछि संवैधानिक परिषद् बैठक स्थगित, साँझ ५ बजे बस्ने

काठमाडौँ, ३० मंसिर – सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि मंगलबार बिहान डाकिएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र उपस्थित भएपछि गणपूरक नपुगेर बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।
संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार परिषद्को बैठकमा प्रधानमन्त्री अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता, सभामुख, प्रधानन्यायधीश, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् । ६ जनामध्ये करिब ५ जना उपस्थित हुनुपर्ने प्रावधान छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन् । त्यस्तै उपसभामुख पद रिक्त छ । त्यसैले गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित गरिएको हो ।
























