Breaking News

रत्ननगर उवासंघमा आज मतदानः वरिष्ठ उपाध्यक्षमा गिरी र श्रेष्ठको प्रतिस्पर्धा

Banner

चितवन, मंसिर २९–

चितवनको रत्ननगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज (सोमबार) मतदान हुँदैछ ।

२१ औँ साधारण सभा तथा अधिवेशन आइतबारबाट सुरु भएसँगै आज निर्वाचनको तालिका रहेको छ । अधिवेशनले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी तथा सदस्यहरु चयन गर्दैछ । संघको नेतृत्व हात पार्न नेकपा र नेपाली कांग्रेसनिकटका व्यवसायीहरु दुई प्यानल चुनावी मैदानमा छन् । संघको वरिष्ठ उपाध्यक्षसहित २१ पदमा निर्वाचन हुँदैछ । त्यसका लागि ४३ जना व्यवसायीले उम्मेद्वारी दर्ता गराएका छन् ।

मतदानमा वरिष्ठ उपाध्यक्षका लागि नेकपा निकटका व्यवसायी शंकर गिरी र नेपाली कांग्रेसनिकट व्यवसायी देवेन्द्रकुमार श्रेष्ठको प्रतिस्पर्धा हँुदैछ । वाणिज्यतर्फको उपाध्यक्षमा नेकपाका भीमनारायण श्रेष्ठ र नेपाली कांग्रेसबाट कविन घिमिरे तथा स्वतन्त्र उम्मेद्वारका रुपमा देवीप्रसाद डल्लाकोटी उभिएका छन् ।

उद्योगतर्फको उपाध्यक्षमा नेकपाका पुरू खनाल र नेपाली कांग्रेसबाट निरञ्जन थापा, एसोसिएट उपाध्यक्षमा नेकपाका राममणि थपलिया र राप्रपाका हरिप्रसाद अधिकारीले बीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा नेकपाबाट निराजन खनाल र नेपाली कांग्रेसबाट माधवप्रसाद पौडेल र कोषाध्यक्षको लागि नेकपा निकट प्यानलबाट उपेन्द्र शर्मा आचार्य र नेपाली कांग्रेस निकट प्यानलबाट मीना उप्रेती उम्मेदवार बनेका छन् ।

यसका अलावा उद्योग, वाणिज्य, वस्तुगत तथा महिला सदस्यहरुको स्थानमा दुवै प्यानलबाट दुई दर्जन बढी उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । सो अधिवेशनले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी तथा सदस्य गरी २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । सात सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ । नेकपा निकट र कांग्रेस निकट व्यवसायीको बीचमा भएको चुनावी प्रतिस्पर्धाले राजनीतिक निर्वाचनकै झझल्को दिएको छ । मत क्रस नभए नेकपा निकट प्यानलले जित्ने दावी गरिएको छ । तर, पनि व्यवसायिक सुरक्षाको स्पष्ट खाका सहित निर्वाचनमा गएका कारण कांग्रेस निकटका व्यवसायीहरु निर्वाचनमा सफलता हात पार्नेमा ढुक्क रहेको बताएका छन् । वरिष्ठ उपाध्यक्षमा चुनावी प्रतिस्पर्धामा रहेका शंकर गिरी र देवेन्द्रकुमार श्रेष्ठ दुवै रत्ननगरका लोकप्रिय व्यवसायीका रुपमा मानिन्छन् । गिरी यातायात व्यवसायीका रुपमा परिचित छन् भने श्रेष्ठ हार्डवेयर व्यवसायी हुन् ।

रत्ननगर नगरपालिकाको रुपमा स्थापित भएसँगै विसं २०५४ सालमा रत्ननगर उद्योग वाणिज्य संघको स्थापना भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>