चितवन विशेष

थारु परम्परागत ज्ञान–सीप संरक्षण गर्न गुरौहरुको भेला

Banner

कारी महतो

चितवन, मंसिर २८–

थारु समुदायको परम्परागत ज्ञान, सीप तथा प्रविधिहरु संरक्षण गर्ने उद्देश्यले आइतबार थारु आयोगले चितवनको सौराहामा थारु गुरौहरु र स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको छ ।

सदियौंदेखि विभिन्न महामारी, रोगव्याधि, जंगली जनावरहरुबाट बच्न र बचाउन थारु गुरौहरुको परम्परागत ज्ञानकै सहारा लिदैं आएको सहभागीहरुले बताएका छन् । “नेपाल सरकारले गरेको लकडाउन र क्वारेन्टिन हामीले विभिन्न महामारीको समयमा सयौं वर्ष अगाडिदेखि बरनाको रुपमा प्रयोग गर्दै आएका थियौं” सहभागी गुरौहरुले भनेका छन् । परिवार नियोजनका लागि थारु गुरौहरुले सयौं वर्ष अगाडिदेखि जडीबुटीबाटै सफलता हासिल गरी हालसम्म सफल प्रयोग गरिरहेको बताएका छन् । सामान्य रोगव्याधि देखि हाडजोर्नी, सरुवा रोग नियन्त्रणलगायत थुप्रै रोगहरुको उपचार अहिले पनि गुरौहरुले गर्ने गरेका छन् ।

थारु परम्परागत ज्ञानसीप र प्रविधिहरु व्यावसायीकरण र पुस्ताहस्तान्तरण हुन नसकी लोपोन्मुख अवस्थामा रहेकोले यस्ता ज्ञानसीप र प्रविधिहरु संरक्षण गर्नुका साथै पेटेन्ट राइट स्थापित गर्नका लागि थारु आयोगले पहल गरेको आयोगका अध्यक्ष चौधरीले बताउनुभयो ।
अर्को एक प्रसंगमा थारु आयोगको सिफारिस बिना नै नेपाल सरकारले राना थारुलाई थारु समुदायबाट अलग गरेकोमा आयोगका अध्यक्ष चौधरीले आपत्ति समेत जनाउनु भएको थियो । “राना थारुहरु अलग हुनुपर्ने जरुरी थिएन” अध्यक्ष चौधरीले भन्नुभयो । राना थारुहरु अलग भएता पनि आयोगले राना थारु लगायत सम्पूर्ण थारु समुदायको संवैधानिक हकअधिकार, पहिचान र सशक्तिकरण सम्बन्धि कार्यक्रमहरु तीब्रताका साथ अगाडि सारेको अध्यक्ष चौधरीले बताउनुभयो ।

थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले थारु आयोगले थारु समुदायको राजनैतिक पँहुच वृद्धि गर्ने कार्यक्रमलाई सबैभन्दा प्राथमिकताकासाथ अगाडि लैजानुपर्ने बताउनुभयो । थारु कल्याणकारिणी सभा नवलपरासीका जिल्ला सभापति रामप्रसाद महतोले थारु समुदायको पराम्परागत ज्ञान, सीप वैज्ञानिक र व्यवहारिक भएता पनि नेपाल सरकारले कानूनी मान्यता दिन नसकेकोले लोप हुन लागेको बताउनुभयो ।

कार्यक्रममा थारु आयोगका उपसचिव अन्जुसिंह के.सी.ले कार्यक्रमको औचित्य बारे र उपसचिव पद्मनिधि सोतीले थारु आयोगबारे संक्षिप्त जानकारी प्रस्तुत गर्नु भयो । त्यस्तै पत्रकार तथा साहित्यकार डा. कृष्णराज सर्वहारीले थारु गुरौहरुमा भएको ज्ञान, सीप सम्बन्धि र हरिमाया थनेतले थारु समुदायको थर सम्बन्धि जानकारी प्रस्तुत गर्नुभएको थियो ।

थारु आयोगका अध्यक्ष विष्णप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन लगायत पूर्वी नवलपुर र मकवानपुर जिल्लाका थारु गुरौहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>