चितवन विशेष

थारु परम्परागत ज्ञान–सीप संरक्षण गर्न गुरौहरुको भेला

०
Banner

कारी महतो

चितवन, मंसिर २८–

थारु समुदायको परम्परागत ज्ञान, सीप तथा प्रविधिहरु संरक्षण गर्ने उद्देश्यले आइतबार थारु आयोगले चितवनको सौराहामा थारु गुरौहरु र स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको छ ।

सदियौंदेखि विभिन्न महामारी, रोगव्याधि, जंगली जनावरहरुबाट बच्न र बचाउन थारु गुरौहरुको परम्परागत ज्ञानकै सहारा लिदैं आएको सहभागीहरुले बताएका छन् । “नेपाल सरकारले गरेको लकडाउन र क्वारेन्टिन हामीले विभिन्न महामारीको समयमा सयौं वर्ष अगाडिदेखि बरनाको रुपमा प्रयोग गर्दै आएका थियौं” सहभागी गुरौहरुले भनेका छन् । परिवार नियोजनका लागि थारु गुरौहरुले सयौं वर्ष अगाडिदेखि जडीबुटीबाटै सफलता हासिल गरी हालसम्म सफल प्रयोग गरिरहेको बताएका छन् । सामान्य रोगव्याधि देखि हाडजोर्नी, सरुवा रोग नियन्त्रणलगायत थुप्रै रोगहरुको उपचार अहिले पनि गुरौहरुले गर्ने गरेका छन् ।

थारु परम्परागत ज्ञानसीप र प्रविधिहरु व्यावसायीकरण र पुस्ताहस्तान्तरण हुन नसकी लोपोन्मुख अवस्थामा रहेकोले यस्ता ज्ञानसीप र प्रविधिहरु संरक्षण गर्नुका साथै पेटेन्ट राइट स्थापित गर्नका लागि थारु आयोगले पहल गरेको आयोगका अध्यक्ष चौधरीले बताउनुभयो ।
अर्को एक प्रसंगमा थारु आयोगको सिफारिस बिना नै नेपाल सरकारले राना थारुलाई थारु समुदायबाट अलग गरेकोमा आयोगका अध्यक्ष चौधरीले आपत्ति समेत जनाउनु भएको थियो । “राना थारुहरु अलग हुनुपर्ने जरुरी थिएन” अध्यक्ष चौधरीले भन्नुभयो । राना थारुहरु अलग भएता पनि आयोगले राना थारु लगायत सम्पूर्ण थारु समुदायको संवैधानिक हकअधिकार, पहिचान र सशक्तिकरण सम्बन्धि कार्यक्रमहरु तीब्रताका साथ अगाडि सारेको अध्यक्ष चौधरीले बताउनुभयो ।

थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले थारु आयोगले थारु समुदायको राजनैतिक पँहुच वृद्धि गर्ने कार्यक्रमलाई सबैभन्दा प्राथमिकताकासाथ अगाडि लैजानुपर्ने बताउनुभयो । थारु कल्याणकारिणी सभा नवलपरासीका जिल्ला सभापति रामप्रसाद महतोले थारु समुदायको पराम्परागत ज्ञान, सीप वैज्ञानिक र व्यवहारिक भएता पनि नेपाल सरकारले कानूनी मान्यता दिन नसकेकोले लोप हुन लागेको बताउनुभयो ।

कार्यक्रममा थारु आयोगका उपसचिव अन्जुसिंह के.सी.ले कार्यक्रमको औचित्य बारे र उपसचिव पद्मनिधि सोतीले थारु आयोगबारे संक्षिप्त जानकारी प्रस्तुत गर्नु भयो । त्यस्तै पत्रकार तथा साहित्यकार डा. कृष्णराज सर्वहारीले थारु गुरौहरुमा भएको ज्ञान, सीप सम्बन्धि र हरिमाया थनेतले थारु समुदायको थर सम्बन्धि जानकारी प्रस्तुत गर्नुभएको थियो ।

थारु आयोगका अध्यक्ष विष्णप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन लगायत पूर्वी नवलपुर र मकवानपुर जिल्लाका थारु गुरौहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>