Breaking News
कोरोनाले सुनसान बनेको नारायणी किनारमा चहलपहल बढ्यो, पुरानै लयमा फर्किदै

- निशा श्रेष्ठ
चितवन, मंसिर २८- कोरोनाका कारण सुनसान बनेको नारायणी किनारमा फेरि चहलपहल बढ्न थालेको छ ।
नारायणीमा चल्ने मोटरबोटलगायत अन्य ठेला व्यवसाय सञ्चालनमा आएपछि चहलपहल बढ्न थालेको हो । नारायणीको खुला चौरमा अहिले कोही टिकटक बनाउँदै गरेको, फोटो खिच्दै गरेको देखिन्छ भने कोही सेल्फी लिदैँ गरेका युवायुवती देख्न सकिन्छ । घाम ताप्न नदी किनार पुग्नेको संख्या पनि निकै धेरै देखिन्छ ।

नारायणीमा चहलपहल बढेसँगै नारायणी किनारमा ठेला व्यवसाय, फोटो व्यवसाय, मोटोरबोट पनि पुरानै लयमा फर्किन थालेको छ ।नारायणी नदी परिसरको व्यवस्थापन हेरिरहेका पाँच टोल विकास संस्थाका अध्यक्ष दिपक शाही ठकुरीले स्थानीय पर्यटकको आगमन बढेको बताउँछन् । पहिले पहिले अन्य जिल्लाका पर्यटक पनि परिवारसहित आउने गरे पनि अहिले आन्तरिक पर्यटक आउने गरेको उनले जानकारी दिए । पहिले ३\४ हजार पर्यटक आउने गरे पनि अहिले झण्डै एक हजार २०० जना आउने गरेको बताउँछन् ।

नारायणी नदीमा आयुस्मा मोटरबोट स्टेसन चलाइरहेका विजयचन्द्र अधिकारीले पहिले भन्दा धेरै चहलपहल बढिरहेको बताए । अहिले दैनिक १०० देखि १५० जना मोटरबोट चढ्नकै लागि आउनेगरेको उनले जानकारी दिए । अहिले नारायणी नदीमा ८ वटा कम्पनीहरुले मोटरबोट चलाइरहेका छन् । कोरोनाकै कारण ठूलो लगानी गरेका मोटरबोट कतिपय कम्पनी भने अझै सञ्चालन हुन सकेका छैनन् ।
नारायणी नदी किनार साँझको समयमा घुइँचो लाग्ने गरेको छ । नदी किनारमा व्यवसायिक रुपमा फोटो खिच्दै आइरहेको मञ्जिल कर्माचार्य पहिले भन्दा कम रहेको बताए । उनले प्रतिफोटो २० रुपैयाँ लिने गरेका छन् । उनले अहिले दैनिक १०० देखि १२० जनाको फोटो खिच्ने गरेको बताए । नारायणीमा पर्यटकीय गतिविधि बढाउनका लागि भरतपुर महानगरले बगैँचा, फुटबल मैदान, भलिबल कोट, ब्याडमिन्टन कोट, बिच भलिबल क्षेत्र, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा क्षेत्र, बालबालिकाको खेल क्षेत्र, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायतका संरचना निर्माण गर्ने गुरुयोजना पनि बनाइसकेको छ ।
























