चितवन विशेष
चितवनमा दुई हप्ते होटल व्यवस्थापन तालिम सुरु

चितवन, मंसिर २८–
उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षामा आजदेखि होटल व्यवस्थापन एवम् कुकिङ तालिम सुरु भएको छ ।
उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षमा सञ्चालन हुन लागेको उक्त तालिमको उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ का कारण बढी प्रभावित भएको क्षेत्र मध्ये होटल व्यवसाय एक भएकोले यस व्यवसायलाई पुर्वअवस्थामा ल्याउनमा सहयोग पु¥याउनका लागि तालिमको आयोजना गरिएको बताए । कार्यक्रममा श्रेष्ठले होटल व्यवस्थापन मानवीय सेवासँग सम्बन्धित भएकोले यो अत्यन्तै संवेदनशील र व्यवसायिक हिसाबले महत्वपूर्ण मानिने बताउँदै तालिमले सो सम्बन्धमा सहयोग पु¥याउने आशा व्यक्त गरे ।
सोही कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य एवम् तालिम व्यवस्थापन समितिका संयोजक योगिता पियाले ग्राहकको सन्तुष्टिनै होटल व्यवसायीको सफलताको कडी मानिने भएकोले सन्तुष्टि दिनका लागि खानाको स्वादलगायत सेवा दिने सिप र प्रस्तुतीकरणले महत्व राख्ने हुँदा व्यवसायीले यस बारेमा ध्यान दिनुपर्ने बताए । होटल व्यवसायीलाई लक्षित गरी आयोजना गरिएको दुई हप्ते तालिममा होटल व्यवसाय गर्ने २५ जना व्यवसायीको सहभागिता रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका द्वितीय उपाध्यक्ष चिरञ्जिवि सुवेदी, होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ, प्रमुख प्रशिक्षक सुदिप भट्टलगायतले मन्तव्य राखेका थिए । दुई हप्तासम्म सञ्चालन हुने उक्त कार्यक्रममा सुदिप भट्ट र सुमन अधिकारी प्रशिक्षक रहेका छन् । उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका थिए ।
























