Breaking News

गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताः नारायणीको विजयी सुरुवात

Banner

चितवन,मंसिर २७-

चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी सुरुवात गरेको छ । बागमती टिमलाई सुपर ओभरमा पराजित गर्दै नारायणीले विजयी सुरुवात गरेको हो । सुपर ओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पक्षाएको बागमतीले २० रन मात्र बनाउन सक्यो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको नारायणीले करण केसीको लगातार ३ वटा छक्काको मद्दतमा २५ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएका ज्ञानेन्द्र मल्लले ३ वटा छक्का हान्दै वाग्मतीलाई जितको आशा देखाए पनि सम्भव हुन सकेन ।

यसअघि वाग्मतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नारायणले २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । नारायणीका आरिफ शेखले सर्वाधिक ४४ रन बनाए । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय मैदान चितवनमा पहिले ब्याटिङ गरेको वाग्मतीले ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । उसका लागि सुनिल धमला र विक्रम सोबले समान ३७/३७ र रसिद खानले २७ रन बनाउनुबाहेक अरुले दोहोरो रन जोड्न सकेनन् । नारायणीका लागि शाहव आलमले ३ र दिपेश श्रेष्ठले २ विकेट लिए ।

वाग्मती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा तीन टिम बागमती, नारायणी र राप्तीको सहभागीता रहेको चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिनुभयो । वाग्मतीको कप्तानमा राष्ट्रिय टोलीका समेत कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले गर्नुभएको छ । यस्तै नारायणीको कप्तान सुबास खकुरेल रहनुभएको छ । यसअघि पूर्वराष्ट्रिय कप्तान पारस खड्काले कप्तानी गर्ने भनिएकोमा पारसलाई कोरोना पुष्टि भएपछि सुबासले कप्तानी सम्हाल्नुभएको हो । राप्तीको कप्तानमा विनोद भण्डारी रहनुभएको छ ।

प्रतियोगिताको दोस्रो खेलमा भोलि वाग्मती र राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर ३० गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बागमती प्रदेश खेलकुद परिषदको सदस्य सचिव सुर्य भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>