Breaking News

फेवातालमा छैनन् पर्यटक, पानीमा तैरिरहेछन् रित्ता डुंगाहरु (फोटोफिचर)

Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

कास्की, मंसिर २५ – पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालमा पर्यटकहरुको आगमनमा निकै कमी भएको छ । विगतका वर्षहरुभन्दा यस वर्ष ९८ प्रतिशतले पर्यटकको आगमनमा कमी आएको  हो ।

यतिबेला फेवातालमा रित्ता डुंगाहरु तैरिरहेको देख्न सकिन्छ । फेवातालको मूख्य क्षेत्र तालबराही मन्दिर जाने ठाउँमा हाल दैनिक ६०/७० जना आन्तरिक पर्यटकहरु आउने गरेको डुंगा व्यावसायी समितिका म्यानेजिङ्ग डाइरेक्टर जीवन बिकेले जानकारी दिए ।
कोरोनाकाल अघि यस क्षेत्रमा दैनिक ३ हजार देखि ३५ सयसम्म पर्यटकहरु आउने गर्थे । जसमध्ये ९५ प्रतिशत आन्तरिक पर्यटक हुने गरेको बिके बताउँछन् ।

 

तालबराही मन्दिर अहिले बन्द छ । यस्तै कोरोना भाइरस (कोभिड–१९) को जोखिम पनि कम भएको छैन । यीनै कारणहरुले गर्दा पर्यटकहरुको आगमनमा निकै कमी आएकोे डुंगा व्यावसायीहरुको आंकलन रहेको डाइरेक्टर बिकेले बताए । अहिले पर्यटकहरु डुंगाबाटै मन्दिरको परिक्रमा गर्ने गरेका छन् ।

७ महिनादेखि बन्द रहेको फेवाताल गत असोज २ गतेबाट सञ्चालनमा आएको हो । सुरुवाती दिनहरुमा भन्दा पर्यटकको आगमना संख्यामा केही वृद्धि हुँदै गइरहेको उनी बताउँछन् ।

तालबराही प्रवेश क्षेत्रबाट ३६६ वटा डुंगा सञ्चालन हुने गर्छन् । उनीहरुलाई दैनिक पालो लगाएर चलाउने व्यवस्था मिलाइएको बिकेले जानकारी दिए । फेवाताल भरी नै ८०० वटा डुंगा सञ्चालनमा रहेका छन् । अरु डुंगाहरु तालको अन्य ६ क्षेत्रबाट सञ्चालित छन् । अन्य क्षेत्रहरुमा मन्दिर क्षेत्रभन्दा पनि कम पर्यटकहरु आइरहेको डाइरेक्टर विकेले बताए । विगतका दिनहरुमा पनि मन्दिर क्षेत्रबाट नै धेरै पर्यटकहरु डुंगा चढ्ने गर्दथे ।

अहिले डुंगामा सयर हुने पर्यटक र चालकहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । डाइरेक्टर बिकेका अनुसार साबुनपानीले हात धुने, मास्क लगउने र तापक्रम नाप्ने काम गर्नुका साथै डुंगामा बस्दा भौतिक दुरी कायम अनिवार्य गरिएको छ । डुंगामा बस्दा लगाइने लाइफ ज्याकेट एक पटक प्रयोगमा आइसकेपछि स्यानिटाइजर गरेरमात्र पुनः प्रयोगमा ल्याइने गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>