चितवन विशेष
निर्माण दिवसमा देवघाटका वृद्धवृद्धाहरुलाई भोजन तथा नगद वितरण

चितवन,मंसिर २२-
निर्माण व्यवसायी संघ चितवनले देवघाटका वृद्धवृद्धाहरुलाई भोजन तथा नगद वितरण गर्दै १३ औँ राष्ट्रिय निर्माण दिवस २०७७ मनाएको छ । व्यवसायीले हरेक वर्ष देवघाटको वृद्धाश्रममा निर्माण दिवस मनाउँदै आएको भन्दै संघका अध्यक्ष उमानन्द कँडेलले क्षेत्र विकास समितिसँग सधैँ सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । कँडेलले निर्माण व्यवसायी संघ देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम)को आजीवन सदस्य समेत बनेको बताउनुभयो । आजिवन सदस्यका लागि १५ हजार ५०० रुपैयाँ कँडेलले क्षेत्र विकास समितिलाई प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य होम कुमार आचार्यले १३ वर्षदेखि देवघाटमा नै आएर दिवस मनाउँदै आएको बताउनुभयो । क्षेत्र विकास समितिसँग सधैँ सहकार्य गरेर अगाडि बढ्ने भन्दै आचार्यले जस्तो सुकै अप्ठारोमा पनि देवघाटका बुवाआमासँगै रहने बताउनुभयो ।
कार्यक्रममा निर्माण व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष श्री प्रकाश कँडेलले कोभिडले निर्माण व्यवसायीलाई थला परेको बताउनुभयो । क्षेत्र विकास समितिको वृद्धाश्रम सञ्चालनका लागि आफू र आफ्नो संस्थाले सधैँ सहयोग गर्दै अगाडि बढ्ने उहाँको भनाइ छ ।
सो कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले आश्रम सञ्चालनका लागि सरकारबाट सहयोग नभएको बताउनुभयो । वृद्धाश्रम सञ्चालनका लागि दैनिक ११ हजार रुपैयाँ खर्च हुने गरेको भन्दै घिमिरेले वार्षिक रुपमा ४२ लाख रुपैयाँ खर्च हुने गरेको बताउनुभयो । दाताहरुले खाना खुवाउन प्रदान गर्ने रकमबाट वृद्धाश्रम सञ्चालन हुँदै आएको भए पनि पछिल्लो समय कोभिडका कारण असर परेको उहाँको भनाइ छ ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष हरि प्रसाद घिमिरे, कार्यक्रम संयोजक दिनेशचन्द्र न्यौपानेलगायतले मन्तव्य राख्नुभएको थियो । निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका प्रथम उपाध्यक्ष केशव लामिछानेले गर्नुभएको थियो ।
























