Breaking News

‘छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक’

Banner

काठमाडौँ, मङ्सिर १९-

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको जानकारी दिनुभयो ।

भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले यही मङ्सिर ११ र चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले मङ्सिर १४ गते नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो ।

भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमण कोभिड–१९ को सङ्क्रमणपछि नेपाल र भारतबीच रोकिएका द्विपक्षीय भ्रमणको शुरुआत भएको जनाउँदै मन्त्री ज्ञवालीले भ्रमणमा दुई देशबीचको सीमा समस्या औपचरिक कार्यसूचीमा समावेश गरिएको बताउनुभयो ।

भारतले नेपालका भूभाग समेटेर नयाँ नक्शा जारी र लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि तथा नेपालले पनि आफ्ना भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटी हालसालै नयाँ नक्शा जारी गरेपछि दुवै देशबीचको सम्बन्धमा केही चिसोपना आएको थियो । नेपाल–भारत संयुक्त समितिको बैठक चाँडै हुने र दुवै देशबीचका थाती रहेका विषय सो बैठकमार्फत यथाशक्य समाधान गर्न पहल गरिने उहाँँको भनाइ थियो ।
यसैगरी चीनका रक्षामन्त्री वेइको नेपाल भ्रमण सैनिक सहयोग आदानप्रदान गर्न र द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न महत्वपूर्ण भएको उहाँले बताउनुभयो । मन्त्री ज्ञवालीले गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला भएका सम्झौतालाई गति दिन पनि सो भ्रमण फलदायी बताउनुभयो ।

नयाँ परराष्ट्र नीति छिट्टै सार्वजनिक हुने

सांसदका जिज्ञासामा मन्त्री ज्ञवालीले भारतसँगको सीमा समस्या सामाधानका लागि विभिन्न तवरले पहल भइरहेको जानकारी दिँदै चीनसँग भने सीमा समस्या नभएको स्पष्ट पार्नुभयो । उहाँले केही दिनभित्रै सरकारको परराष्ट्र नीति सार्वजनिक गरिने पनि जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने बारेमा सरकारले पहल गरिरहेको बताउँदै कोभ्याक्सअन्तर्गत २० प्रतिशत खोप सहुलियत दरमा आउने र बाँकी ल्याउन विभिन्न मित्र राष्ट्रसँग पत्राचार भइसकेको जानकारी दिनुभयो । एक फरक प्रसङ्गमा उहाँले ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन तथ्यमा आधारित नभई दृष्टिकोणमा मात्र आधारित भएको टिप्पणी गर्नुभयो ।
समितिका सभापति पवित्रा निरौलाले समितिको अर्को बैठकमा मुलुकको राष्ट्रिय सुरक्षा नीतिका बारेमा रक्षा मन्त्रालयसँग छलफल गरिने जानकारी दिनुभयो । बैठकमा समिति सदस्यले दुई देशबाट भएका नेपाल भ्रमण र नेपाल सरकारको परराष्ट्र नीतिका बारेमा जिज्ञासा राख्नुभएको थियो । सांसद भीमबहादुर रावलले नेपालको नदी प्रणालीअन्तर्गत भारतले थप बाँध बाँध्न लागेको भनिएको योजना, प्रबुद्ध व्यक्ति समूह(इपिजी_को प्रतिवेदन, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखले नेपालका प्रधानमन्त्रीलाई गरेको भेट, चिनियाँ सहयोगका परियोजनाका प्रगति, संयुक्त राज्य अमेरिकासँग भएको सम्झौतालगायत विषयमा जिज्ञासा राख्नुभएको थियो ।

सांसद प्रकाशमान सिंहले भारतसँग मात्र नभई चीनसँगको सीमा विवादका सम्बन्धमा पनि जिज्ञासा राख्नुभएको थियो । सांसद दिव्यमणि राजभण्डारीले सरकारको परराष्ट्र नीतिबारे जनताले जानकारी पाउनुपर्ने माग राख्नुभएको थियो । सांसद सुजाता कोइरालाले कोरोनाविरुद्धको खोप नेपालमा कहिलेसम्म आइपुग्छ र वितरण सम्बन्धमा सरकारको योजना के छ भनी प्रश्न गर्नुभएको थियो । सांसद मेनुका गुरुङले भारतबाट भएको भ्रमणले कूटनीतिक ढोका खुलेको बताउँदै भारतसँगका थाती मुद्दा समाधानमा मन्त्रालय क्रियाशील हुनुपर्ने सुझाव दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>