चितवन विशेष

वाग्मती प्रदेशका कोभिड प्रयोगशालाकर्मीलाई तालीम

Banner

चितवन,मंसिर १८-

वाग्मती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकका लागि दुई दिने तालीम आजदेखि यहाँ शुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुद्वारा आयोजित उक्त तालीममा जैविक सुरक्षा, व्यक्तिगत सुरक्षा उपकरणको परिचय, उपकरणको निर्मलीकरण, जैविक सुरक्षाको तह, नमूना सङ्कलन, ढुवानीका बेला अपनाउनुपर्ने सुरक्षा विधि, फोहरको व्यवस्थापन, विवरण सङ्कलन र अध्यावधिकलगायत विषयमा प्रशिक्षण दिइने छ ।

तालीमको उद्घाटन गर्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले पिसिआर प्रयोगशालामा पछिल्लो समय आमूलपरिवर्तन आएको बताउनुभयो । चितवन जिल्लामा मात्रै १० प्रतिशतभन्दा बढी जनताको पिसिआर परीक्षण गरिएको भन्दै उहाँले यस क्षेत्रमा जोखिम मोलेर काम गरेकाप्रति सरकारले उचित मूल्याङ्कन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रयोगशालामा काम गर्ने तपाईहरु चिकित्सकको पनि चिकित्सक हो । तपाईहरुले गरेको प्रयोगशालाको नतिजाका आधारमा चिकित्सकले बिरामीलाई औषधि दिन्छन् ।” स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्षसमेत रहनुभएका डा अधिकारीले प्रयोगशाला परीक्षणको अभावमा दुर्गम जिल्लामा रोग फैलिँदासमेत अज्ञात रोग भन्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चितवन जस्ता ठाउँमा जस्तोसुकै रोग आए पनि अज्ञात रोग भन्न पर्दैन । त्यो प्रयोगशालाकै कारणले हो ।”

कार्यक्रममा भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा जगन्नाथ तिवारीले जिल्लामा तीन वटा पिसिआर परीक्षण प्रयोगशाला रहेको भन्दै यसले उपचार र कोभिड रोकथाममा सहयोग पुगेको बताउनुभयो । वाग्मती प्रदेश प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक नारायण कार्कीले कोभिड प्रयोगशालामा काम गर्नेहरुले चाडपर्वको समयमा समेत बिदा नबसी काम गरेको बताउँदै सुरक्षाका विधिका बारेमा थप चनाखो हुन यो तालीम प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेल, रमेश धमलालगायतले तालीमको प्रभावकारितताको बारेमा जानकारी दिनुभयो । दुई दिने तालीममा वाग्मती प्रदेशका पिसिआर प्रयोगशालामा कार्यरत ३५ जनाको सहभागिता छ । तालीममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा महेश अधिकारी र भरतपुर अस्पताल कोभिड– १९ प्रयोगशालाका प्रमुख डा नीतु अधिकारीले प्रशिक्षण दिनुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>