Breaking News

अब देशका कुनै पनि पालिका अस्पताल बिहीन हुँदैनन्ः स्वास्थ्यमन्त्री ढकाल

Banner

चितवन, मंसिर १५-

भरतपुर अस्पतालको आकस्मिक भवन र सरुवा रोग सेवा भवनको शिलान्यास गरिएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भवनको शिलान्यास गरेका हुन् ।  सो अवसरमा मन्त्री ढकालले अब देशका कुनै पनि पालिका अस्पताल बिहीन नहुने बताए । आज एकैसाथ देशभर ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ भएसँगै सबै नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउने कुरा सुनिश्चित गर्ने बताए ।

‘हामीले भनेर होइन काम गरेर देखाउँछौं’, मन्त्री ढकालले भने, ‘यस्तो विषम परिस्थितिमा पनि अस्पतालहरु धमाधम शिलान्यास गरेर काम अघि बढाएका छौं ।’ उनले आफ्नो पालामा मात्रै २०० बढी पालिकामा अस्पताल निर्माणका लागि स्वकृती दिएको बताए । कतिपय पालिकामा जग्गाको समस्याका कारण अस्पताल निर्माण हुन नसकेको भन्दै उनले त्यसका लागि पनि सरकारले आवश्यक व्यवस्था गरेको बताए ।

देशभरका अस्पतालहरुको स्तरोन्नतिका लागि सरकारले बजेटको व्यवस्था गरेको उनले जानकारी दिए । गरिब र विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले काम गरिरहेको मन्त्री ढकालले बताए । आजका शिलान्यासहरु शिलान्यासमा मात्र सीमित नभई कार्यान्वयन हुनुपर्नेमा उनको जोड छ ।

‘कोरोनापछि झन् हामीले पाठ सिक्ने अवसर मिल्यो’, उनले भने’,संघमा ३०० शैयाको र प्रदेशमा ५० शैयाको ल्याबसहितको सरुवा रोगको उपचार गर्ने अस्पताल निर्माणमा जुटेका छौं ।’ मन्त्री ढकालले जनताले छर्लङ्ग देख्नेगरी सरकारले काम गरिरहेको बताए । कोरोना विरुद्धको महामारीमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी सहित सरकार निरन्तर लडिरहेको उनको भनाइ छ । सरकारले ६ प्रतिशत नागरिकको कोरोना परीक्षण गरिसकेको उनले बताए । ‘कोभिड नेपाल भित्रने समयमा विदेशमा लगेर परीक्षण गर्नुपर्ने अवस्था थियो’, उनले भने ’,अहिले देशभर ७६ वटा ल्याब स्थापना भइसकेका छन ।’ साझा मोर्चाबाट मात्रै कोरोना परास्त गर्न सकिने भन्दै उनले नेपालले आफ्नो स्रोतसाधन अनुसार गर्व गर्न लायक सेवा पु¥याएको छ ।

डब्लूएचओले मान्यता दिनासाथ नेपालमा कोरोनाको भ्याक्सिन

मन्त्री ढकालले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मान्यता दिनासाथ नेपालमा कोरोनाको भ्याक्सिन ल्याउने तयारी गरिरहेको बताए । उनले नेपालको स्रोतसाधन र क्षमता अनुसार नै कोरोना विरुद्धको अभियानमा लडेको भन्दै त्यसमा सफलता मिलेको उनले जीकिर गरे । कोरोना विरुद्धको लडाइमा नागरिकले सरकारलाई साथ दिएको मन्त्री ढकालले बताए । सरकारका काममा खिल्ली उडाउनेहरु पनि अहिले कोभिड भइसकेपछि सरकारको योजना अनुरुप चलेको उनको भनाइ छ ।

भरतपुर अस्पताल धनी बाबुको सुकुमबासी छोरो

मन्त्री ढकालले प्रशस्त जग्गा भएर पनि भरतपुर अस्पताल धनी बाबुको सुकुमबासी छोरो जस्तो भएको बताए । ३१ बिघा जग्गा भएको अस्पतालले टहरो कहाँ बनाउने भन्ने चिन्ता हुनु विडम्बनाको विषय भएको विचार राखे । उनले अस्पतालको जमिन फिर्ता ल्याउने र भाडा समयमै बुझाउनका लागि मन्त्रालयले आवश्यक कदम चाल्ने बताए ।

पार्टी भित्रको समस्या ठूलो घरको सल्लाह

अर्को प्रसंगमा मन्त्री ढकालले पार्टी भित्र देखिएको समस्या नभई घरको सल्लाह रहेको बताए । उनले भने,‘सानो घरको झगडाभन्दा ठूलो घरको सल्लाहा बढी हल्लाखल्ला हुन्छ । यस्तो खालको बहस पार्टीमा समय समयमा हुने गरेको छ आत्तिनुपर्ने अवस्था छैन ।’

चालु आर्थिक वर्ष २०७७्७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्न लागिएको हो । सरकारले पाँच शैयाको अस्पताल निर्माण गर्न आठ करोड, १० शैयाको अस्पतालका लागि ११ करोड र १५ शैयाका अस्पताल निर्माणका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा २०, वाग्मतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ ।

सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ । पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ शैयाको अस्पताल बनाउन ६४ अर्ब नौ करोड पठाइएको छ । पाँच शैयाको अस्पतालका लागि ७० लाख रुपैयाँ, १० शैयाका लागि ८५ लाख र १५ शैयाका लागि एक करोड पठाइसकिएको छ । अस्पताल निर्माणको सम्पूर्ण काम स्थानीय तहले गर्नेछन् ।

कार्यक्रममा संघीय सांसद कृष्णभक्त पोखरेल, प्रदेश सभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, विभिन्न राजनीतिक पार्टीका प्रमुखलगायतको सहभागिता रहेको थियो । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको अध्यक्षतामा भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>