Breaking News

एक्लै स्याउलाको छाप्रोमा बस्दै आएकी देवघाटकी मायालाई ७३ वर्षमा नागरिकता

Banner

देवघाट, मंसिर १४-

देवघाट गाउँपालिका–३ नाल्बुङकी एकल महिला माया गुरुङले ७३ वर्षमा पहिलो पटक नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार वृद्धाको घरमै पुगी गुरुङलाई नगारिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

परिवारमा कोही पनि सदस्य नभएको कारण एक्लै बस्दै आएकी उनले अहिलेसम्म नागरिकता नपाएको बारेमा जानकारी पाएपछि आवश्यक कागजात जुटाएर नागरिकताको लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । नागरिकता पाइन्छ भन्ने बारेमा आफूलाई केही थाहा नभएको वृद्धाले बताएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।
नागरिकता नहुँदा ७३ वर्ष भइसक्दा समेत वृद्धाले अहिलेसम्म सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिकको भत्ता समेत प्राप्त गरेकी थिइनन् । अब उनले पाउने ज्येष्ठ नागरिक भत्ताको लागि प्रक्रिया सुरु गर्न अध्यक्ष थापाले वडा सचिवलाई निर्देशन समेत दिएका छन् । नागरिकताको प्रमाणपत्रसँगै अध्यक्ष थापा र प्रजिअ आचार्यले उनलाई करिब ४\५ महिनाको लागि पुग्ने खाद्यान्न सामग्री सहित आवश्यक भाँडा र न्यानो कपडाहरु समेत उपलब्ध गराएका छन् । उक्त सामाग्रीहरु वाटर एड नामक संस्थाले उपलब्ध गराएको अध्यक्ष थापाले जानकारी दिए ।

२०७२ सालको भूकम्पले घर क्षति भए पनि उनी गाउँलेहरुले बनाइ दिएको टिन र स्याउलाले बारेको छाप्रोमा बस्दै आएकी थिइन् । नागरिकताको प्रमाणपत्र प्राप्त पछि वृद्धालाई भूकम्प पीडितको लागि बनाइने निजी आवास निर्माणको लागि शनिबार नै सम्झौता समेत गराइदिएको र जतिसक्दो चाँडो घर निर्माण सम्पन्न गर्ने ठेकेदारको समेत व्यवस्थापन गरिएको प्रजिअ आचार्यले बताए । सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटा, मनकामना सशस्त्र प्रहरी गण भानुका गणपति सञ्जय भट्टराई, सांसद कृष्णकुमार श्रेष्ठका स्वकीय सचिव जगत खड्का, समाजसेवी लेखनाथ पौडेललगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>