Breaking News
कोरोनाले हरिबोधनी एकादशीमा देवघाट आउने भक्तजनको संख्या घट्यो

चितवन, मंसिर ११-
पवित्र धार्मिक तीर्थस्थल देवघाटमा कोरोनाले गर्दा हरिबोधनी एकादशीको अवसरमा आउने भक्तजनको संख्या घटेको छ ।
विगतको वर्षमा ठूलो मेला लाग्ने यस ठाउँमा कोरोनाका कारण बिहीबार भक्त्तजनको कमी आएको हो । यद्यपि देवघाट क्षेत्र विकास समितिले कोभिड–१९ को संक्रमणको जोखिम यथावत रहेकाले नआउन आग्रह गरे पनि समितिका अध्यक्ष शिवराज शर्माले स्वतस्र्फूतरुपमा ५÷७ हजार भक्तजन पूजापाठको लागि आएको बताए ।
समितिले बुधबार विज्ञप्ति प्रकाशित गरी हरिबोधनी एकादशी, बालाचतुर्दशीलगायतका मेला पर्वमा नआउन आग्रह गरेको थियो । विज्ञप्तिमा विभिन्न धार्मिक, सांस्कृतिक महत्वका मेलापर्वमा देवघाटधाममा श्रद्धालुको ठूलो जमघट हुने परम्परा रहिआएको भए पनि कोरोना भाइरस संक्रमणको जोखिम यथावत् नै रहेको र मेला पर्व, उत्सव गरी भीडभाड नगर्ने सरकारको नीति कायमै रहेको उल्लेख छ । परिस्थितिवश गरिएको अनुरोधलाई सबैले मनन गरी घरमा नै बसी परम्पराअनुसार मनाउनसमेत अनुरोध गरिएको छ ।

महामारीमा देवघाट क्षेत्र विकास समितिले नआउन गरेको अनुरोधलाई बेवास्ता गर्दै भए पनि मानिसहरु केही संख्यामा भए पनि आएको देवघाटको विकल्प कोल्ड स्टोरकी सञ्चालिका अस्मिता घिमिरेले नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘अघिल्ला वर्षको जस्तै चहलपहल त देवघाटमा छैन । फूलको डोली पनि अघिल्लो वर्षको भन्दा कम नै थियो । तर, पनि कोरोनाले भक्तजन नै नआउलान् भनेर कतिपयले गरेको अनुमान भने गलत भयो । ’ उनले केही संख्यामा भए पनि भक्तजन आएको बताइन् । पहिले जस्तो गाउँबाट विभिन्न तरकारी, तरुल, सखरखण्ड ल्याएर बाटोमा बसेर बेच्ने गरेको भने यो वर्ष कमै पाइएको उनले बताइन् । उनले अघिल्लो वर्षको तुलनामा यस पटक पसलमा पनि कम नै व्यापार भएको जानकारी दिइन् । भविष्योत्तर पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी हुने कुरा उल्लेख गरिएको छ । यसै अनुसार हिन्दू धर्माबलम्बीहरुले बिहानै नुवाइधुवाइ व्रत बसेर भगवान विष्णुको पूजाआराधना गर्छन् । देवघाटमा बजागाजासहित फूलको डोली नदीमा लैजाने र फूल तार्ने परम्परा चल्दै आएको छ ।
फोटो: आशिष राना
























