Breaking News
डब्लुएचओले भन्यो – कोरोना विरुद्धको खोपको भागदौडमा गरिब देशलाई कुल्चिन हुँदैन

काठमाडौँ, मङ्सिर ९-
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस विरुद्धको खोपका लागि भइरको ‘भागदौड’ मा विश्वका गरिब तथा बढि जोखिमपूर्ण देशहरुलाई ‘कुल्चिन’ नहुने बताएको छ ।
विश्वका सबै क्षेत्रमा खोपको पहुँच पुगोस् भन्नका लागि चार अर्ब ३० करोड अमेरिकी डलर बराबरको सहयोग चाहिने डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् ।
डा. टेडरोजले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रभावकारी ठहरिने खोपको वितरण विश्वभर समान रुपमा हुनु पर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘प्रश्न, विश्वले खोप समान रुपमा बाँडेर सबैको पहुँचमा पु¥याउन सक्छ कि सक्दैन भन्ने होइन, विश्वले खोपको पहुँच सबैमा नपुग्दाको परिणाम भोग्न सक्छ भन्ने हो ।’
कोरोना भाइरसविरुद्धका चार खोपको अन्तिम अर्थात तेस्रो चरणको मानवीय परीक्षणको नतिजा आएको छ ।
पछिल्लो पटक अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप प्रभावकारी रहेको देखिएको छ । यो खोप उत्पादनका लागि फाइजर र मोर्देनाको खोप भन्दा कम पैसा लाग्ने र भण्डारणका लागि पनि सहज हुने देखिएको छ ।
अक्सफोर्डले विकास गरेको खोपको प्रभावकारिता ९० प्रतिशतसम्म हुने देखिएको अनुसन्धानकर्ताले बताएका छन् । यो खोप भण्डारण गर्न तथा ढुवानीका लागि फाइजर–बायोएनटेक र मोर्देनाको खोप भन्दा सहज छ । सो खोप विकसित देशहरुमा अति सुलभ मूल्यमा पु¥याउन सकिने देखिएको छ ।
सोमबार भर्च्युअल पत्रकार सम्मेलनमा डा. टेडरोजले खोपहरुको सकारात्मक नतिजाले महामारीको लामो र अँध्यारो सुरुङ्गको अन्त्य तथा थप स्पष्ट उज्यालो देखिएको बताए ।
उनले भनेका छन्, ‘वैज्ञानिकहरुले गरेको यो प्राप्तीलाई कुनै पनि हालतमा कम आँक्न सकिँदैन । इतिहासमा कुनै पनि खोप यति चाँडो विकास भएको थिएन ।’
डा. टेडरोजले भने, ‘खोपसँगै स्वास्थ्य सम्बन्धी अरु प्रमाणित उपायहरुले यो महामारी अन्त्य गर्न सहयोग गर्ने छ ।’

























