Breaking News
पूर्वमाओवादी र नेपाली कांग्रेस एक हुनुपर्ने अवस्था आयो : नेकपा नेता दाहाल

चितवन, मंसिर ७-
नेकपा चितवनका नेता तथा प्रदेश सांसद घनश्याम दाहालले पूर्वमाओवादी र नेपाली कांग्रेस एक हुनुपर्ने अवस्था आएको बताएका छन् ।
१५ औं शान्ति सम्झौता दिवसको अवसर पारेर गिरिजाप्रसाद कोइराला फाउण्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट चितवनले शनिबार कालिका नगरपालिका–२ पदमपुरमा गरेको दिप प्रज्वलनमा बोल्दै नेता दाहालले सो विचार राखेका हुन् ।
गिरिजाप्रसाद कोइराला नभएको भए देश अहिलेको स्थितिमा आउन नसक्ने बन्दै प्रदेश सांसद दाहालले गिरिजाबाबू र प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेर संथागत गरेको राजनीतिक उपलब्धि माथि प्रतिक्रियाबादी तेस्रो शक्ति हाबी हुन थालेको बताए । उनले भने, ‘ उपलब्धि गुम्ने खतरा बढेको छ, पुन एकपटक पूर्वमाओवादी र नेपाली कांग्रेस एक हुनुपर्ने अवस्था आइसकेको छ ।’
जिपी फाउण्डेसन चितवन क्षेत्र नं २ का संयोजक छबिलाल ढकालले स्वागत मन्तब्य राखेको कार्यक्रममा सबै नेताहरूले गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गरी जंगलमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन खेलेको भूमिकाको चर्चा गरेका थिए ।त्यस्तै कार्यक्रमका नेपाली कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले द्वन्द्वकालमा गाउँमा कांग्रेस भएर बाँच्नु पर्दा भोग्नु परेका पीडाहरुलाई स्मरण गर्दै शहरिया कांग्रेसहरुले गाउँमा रहेका कांग्रेसका पीडाहरुलाई अझै पनि बुझि नसकेको बताए ।
चितवन कांग्रेसका पूर्वसभापति टेकप्रसाद गुरुङले अब सबै कांग्रेसले गुट उपगुट छोडी एकपटक छातीमा हात राखेर सोच्ने बेला आइसकेको बताए । गिरिजाबाबुको स्मरण गर्दै उनले भने, ‘नेपालमा गणतन्त्र माओवादीले ल्याएको होइन, जंगलमा बसेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर हस्ताक्षर गरी नेपालमा गणतन्त्रको सुरुवात गिरिजाबाबुले नै गरेका हुन् । त्यस्तै चितवनका पुराना कांग्रेस नेता कृष्णलाल सापकोटाले भूमिका बिहिन लाखौं इमान्दार कार्यकर्ताहरुलाई पाखा लगाएर अबको कांग्रेस माथि जान नसक्ने र पदको लोभमा कांग्रेस बनेकाहरुले एकपटक कृष्णलाल सापकोटा जस्तै बनेर राजनीति गर्न आग्रह गरे ।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति जिपी फाउण्डेसन चितवनका संयोजक कमल आचार्यले नेकपा एकजुट भएर कांग्रेस पछि हुनु परेको नभइ कांग्रेसले कांग्रेसलाई नै अन्तर्घात गरेका कारण कांग्रेसको यो अवस्था आएको बताए । जबसम्म कांग्रेस सच्चिएर अगाडि बढ्दैन तबसम्म यो अवस्था आइरहने हुँदा नेतृत्वले गल्ती गर्नेलाइ कारबाही र इमान्दार कार्यकर्तालाई सम्मान गार्न चुकेको बताए ।
पदमपुरको निर्माणाधीन कृष्ण मन्दिरको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा कांग्रेस नेता र कार्यकर्ताहरु धेरै लामो समयपछि एकै ठाउँमा भेला भई आफ्ना कुराहरु राख्न पाँउदा खुसी देखिन्थे । फाउण्डेसनका जिल्ला संयोजक कमल आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई प्रवक्ता गोपाल दराईले सञ्चालन गरेका थिए । कार्यक्रममा कांग्रेस नेताहरु पृथ्वीमान गुरुङ, पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, पूर्वसांसद रामकृष्ण घिमिरेलगायत राजेश्वर खनाल, सरोज गुरुङ, गिता गुरुङ, प्रकाश अधिकारी, राजेन्द्र बुर्लाकोटी, कुमार कार्की, राजु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

























