Breaking News
चितवनमा विप्लव माओवादीको गतिविधि बढ्यो, भोलि पार्टी पुर्नगठन दिवस मनाउने तयारी

चितवन, मंसिर ७-
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाभर प्रचारप्रसार र सभाको कार्यक्रम तय गरेको छ ।
भोलि मंसिर ८ गते विप्लव माओवादी पुर्नगठन भएको सातौं वर्षगाँठको अवसरमा चितवन जिल्लाभर प्रचारप्रसार, प्रदर्शन र कोणसभाको कार्यक्रम तय गरेको हो । उनीहरुले शनिबार चितवनका विभिन्न ठाउँमा व्यानर तथा पोष्टर टाँसेर आज भरतपुर, रत्ननगर, कालिका, इच्छाकामना र राप्ती नगरपालिकाका विभिन्न ठाउँमा प्रदर्शन गरेको चितवन विप्लव माओवादी जिल्ला कमिटीले जनाएको छ । पुनर्गठन दिवसलाई उत्सवको रुपमा मनाउने योजना अनुसार नेपाल कम्युनिस्ट पार्टी चितवनले पुनर्गठन दिवसको तयारी गरेको नेपाल कम्युनिस्ट पार्टी चितवनका जिल्ला सदस्य सागरले नारायणी अनलाइनलाई जानकारी दिएका छन् । पुर्नगठन दिवसलाई व्यवस्थित बनाउन जिल्लामा तीन सेक्सन जनसेना परिचालन गरिएको पनि पार्टी निकट स्रोतले दाबी गरेको छ ।

























