चितवन विशेष
देवघाटको रामजानककी बालिका आश्रममा सिनर्जी एफएमको २० औं वार्षिकोत्सव

चितवन, कात्तिक २६-
चितवनको पहिलो रेडियो सिनर्जी एफएम ९१ दशमलब ६ मेघाहर्जले देवघाटस्थित श्री रामजानकी बालिका आश्रममा आश्रित बालिकाहरूलाई खाना खुवाएको छ ।
रेडियोले बुधबार २० औं वार्षिकोत्सवको अवसरमा आश्रममा आश्रित बालिकाहरूलाई एक दिनको खाना खुवाएको हो । वार्षिकोत्सवको अवसमार सिनर्जी एफएममा कार्यरत कर्मचारीहरु आश्रम पुगेका थिए । आश्रममा रहेका बालिकाहरूले हिन्दू धर्मअनुसार विभिन्न खालका मन्त्र उच्चारण गर्दै रेडियोलाई शुभकामना समेत दिएका थिए ।

लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित उक्त आश्रममा करिब ३० जना बालिकाहरू आश्रित छन् । आश्रमकी अध्यक्ष सावित्री टण्डनका अनुसार कसैको जन्मदिन, कसैको पुण्यतिथि तथा कसैको विवाह उत्सव आदि कार्यक्रमबाटै आश्रम सञ्चालन भइरहेको छ । आश्रमको आफ्नै भवन निर्माणको चरणमा छ ।
आश्रमले ६ महिनादेखि ६ वर्षसम्मका बालिकाहरूलाई आश्रय दिँदै आइरहेको उनले बताइन् । आश्रम निर्माणको क्रममा रहेकाले भौतिक तथा आर्थिक सहयोग गर्न चाहनेहरूका लागि बाटो खुला रहेको आश्रमकी अध्यक्ष टण्डनले बताइन् । कार्यक्रममा सिनर्जी एफ.एममा स्टेशन म्यानेजर रामकान्त पौडेलले रेडियो मार्फत् आश्रमलाई आवश्यक सहयोग गर्न आफूहरु सधै तयार रहेको बताए । कोभिड–१९ बीच भौतिक दूरी कायम गर्दै गरिएको उक्त कार्यक्रममा सञ्चारिका समूह चितवनकी अध्यक्ष अजिता अधिकारी, सिनर्जी एफएमका प्रोगाम म्यानेजर मनोज घिमिरे, समाचार प्रमुख जीवन रानाभाट र आश्रमको तर्फबाट आश्रमकी अध्यक्ष सावित्री टण्डन महासचिव रामेश्वर खनाल, आश्रमकी बालिका कल्याणी लोककल्याणीले शुभकामना मन्तव्य राखेका थिए ।
एफएमको वार्षिकोत्सवको अवसरमा एफएमका प्रबन्ध निर्देशक एवम् उद्योग वाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष सहनलाल प्रधानले रेडियोको १९ वर्ष सम्मको यात्रा सँगै रहेर सहयोग गर्ने श्रोता तथा विज्ञापन दाताहरुमा शुभकामना प्रदान गरेका छन् ।
























