चितवन विशेष
चितवनको पहिलो रेडियो सिनर्जी एफएम २० औं वर्षमा प्रवेश

चितवन,कार्तिक २६-
चितवनको पहिलो रेडियो सिनर्जी एफएम बुधबारदेखि २० औं वर्षमा प्रवेश गरेको छ । रेडियो १९ वर्ष पुराभई २० औं वर्षका प्रवेश गरेको उपलक्षमा एफएमका प्रवन्ध निर्देशक एवम् उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले रेडियोको १९ बर्षे यात्रा संगै रहेर सहयोग गर्ने श्रोता तथा विज्ञापन दाताहरुमा शुभकामना प्रदान गर्नुभएको छ ।
उहाँले एक विज्ञप्ती जारी गर्दै स्थापनाकालदेखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण श्रोता, विज्ञापनदाता, विभिन्न संघसस्था तथा सहकर्मी रेडियो स्टेशन एवम् शुभचिन्तकहरुमा आभार प्रकट गर्नुभएको छ । उहाँले रेडियोलाई अझ सशक्त र परिमार्जित ढंगले अगाडी बढाउने प्रतिबद्दता समेत व्यक्त गर्नुभएको छ । सिनर्जी एफएमले यस क्षेत्रको सामाजिक र आर्थिक बिकासका लागि स्थापनाकालदेखि नै सशक्त भूमिका खेल्दै आईरहेको र आगामी दिनमा पनि समाजको हरेक क्षेत्रमा एफएमले आफ्नो भूमिका निर्बाह गर्ने प्रबन्ध निर्देशक प्रधानले बताउनुभयो । कोरोना भाईरस (कोभिड १९) को समयमा समेत उच्च सतर्कताका साथ आफ्नो प्रशारणलाई नियमित गरेको बताउँदै उहाँले जस्तोसुकै परिस्थितिमा समेत जनताको सुशुचित हुने अधिकारलाई आफ्नो संस्थाले पहिलो प्राथमीकता राख्ने उहाँको भनाई छ ।
रेडियोका स्टेशन म्यानेजर रामकान्त पौडेलले कोरोनाका कारण बाषिकोत्सवमा गरिने विगतका कार्यक्रमहरुलाई निरन्तरता दिन नसकेको बताउनुभयो । ‘हामीले २० औं वर्षको प्रवेशको उपलक्ष्यमा अनलाईन र फोन बाट विभिन्न कार्यक्रम गरेका छौं,उहाँले भन्नुभयो’,यसपटकस्रोता माझनै पुग्ने स्टुडियो बाहिर आयोजना गरीने कार्यक्रम गर्न सकिएन । भावी दिनमा स्रोताका सुझावहरुलाई आत्मसाथ गर्दै स्रोताकै अपेक्षा अनुसारको कार्यक्रम प्रशारण गरिने उहाँले बताउनुभयो । सिनर्जी एफएम ले २०५८ साल कार्तिक २६ गते चितवनको भरतपुरबाट आफ्नो प्रशारण शुरु गरेको थियो ।
























