Breaking News

कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा मलामीको भीडभाड

Banner

चितवन, कात्तिक २४-

कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ । एउटै शव लिएर चार सयसम्म मलामी आउने गरेका छन् ।

देवघाट क्षेत्र विकास समितिले निरन्तर सूचना जारी गरेर बढीमा ३० जना मात्रै मलामी आइदिन आग्रह गरिरहेको भए पनि त्यसको बेवस्था गर्दै आफू र स्थानीयवासीलाई जोखिममा पारेर मलामी आउने गरेका हुन् । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार शनिबार एकै दिन २० वटा शव अन्त्येष्टिका लागि ल्याइएको थियो । उहाँले भन्नुभयो “दिउँसो २ बजेतिर शव लैजाँदै गर्दा किनारमा ट्राफिक जाम समेत भएको थियो ।”

मलामीको सङ्ख्या अत्यधिक बढेपछि स्वयं सहभागी र स्थानीयवासीसहित अन्य पनि त्रसित भएको उहाँको भनाइ छ । पौडेलले भन्नुभयो, “हामीले निरन्तर सूचना जारी गरेर कम मलामी ल्याउन आग्रह गरिरहेका छौंँ । तर कसैले पनि टेरेको देखिएन ।” मलामी दुःखमा सहभागी हुन जाने मानवीय संवेदनासँग जोडिएको विषय भएकाले रोकतोक र कारवाही व्यवहारिक नहुने भन्दै उहाँले स्वयं मलामीमा जानेहरुले बुझिदिनुपर्ने बताउनुभयो ।

देवघाटमा वृद्धवृद्धा, अशक्त, अपाङ्गजस्ता कोरोनाको अति जोखिममा परेका व्यक्तिको बसोबास रहेको क्षेत्र भएकाले सकभर कम भन्दा कम मलामी आएर सहयोग गरिदिन आग्रह गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताउनुभयो । उहाँका अनुसार दाहसंस्कार क्षेत्रमा निरन्तर माइकिङ गरिएको छ । सामाजिक सञ्जाललगायत माध्यमको प्रयोग गरी सूचनासमेत जारी भइरहेको छ ।

धेरै मलामी जाने र उनीहरु देवघाटको पुल, वृद्धाश्रम क्षेत्र, मठमन्दिर, पार्कमा घुमफिर गर्ने हुँदा जोखिम बढेको उहाँको भनाइ छ । घिमिरेले भन्नुभयो, “यो मानवीय संवेदनासँग जोडिएको विषय भएकाले कानूनी कारवाही भन्दा पनि स्वयंले विवेक पु¥याउनुपर्ने विषय हो ।”

निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पटक–पटक सूचना जारी गरेर अनुरोध गर्ने काम भइरहेको बताउनुभयो । स्थानीय प्रशासनले छिट्टै मलामी जानेकाहरुका लागि मात्रै नयाँ नियम लागू गराउने उहाँले जानकारी दिनुभयो । अन्तिम श्रद्धाञ्जलिका लागि सहभागी हुन धेरैलाई चाहना हुने भए पनि अहिलेको परिस्थितिलाई बुझेर सहभागी भइदिनुपर्ने शर्माको भनाइ छ ।

देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित छिमेकी जिल्लाबाट अन्त्येष्टिका लागि शव ल्याउने गरिन्छ । देवघाटमा अन्त्येष्टि गरिएमा मोक्षप्राप्ति हुने जनविश्वास छ ।रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>