Breaking News
कोरोना संक्रमितको मृत्यु बढ्दो : दशैंपछि मात्रै २४६ जनाको ज्यान गयो

काठमाडौं, कात्तिक २४-
दशैंलगत्तैको पछिल्ला १३ दिनमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या बढेको छ ।
दशैंलगत्तैको पछिल्ला दिनमा २४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।
यो संगै नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोनाबाट थप २१ को मृत्यु भएसँगै कुल संख्या १ हजार १०८ पुगेको हो ।
कोभिड संक्रमणले पछिल्लो एक हप्तामा मात्र १४८ जनाको मृत्यु भयो । १९ गते बुधवार एकै दिन ३० जनाको मृत्यु भयो । संक्रमणबाट मृत्यु हुने ग्राफ पछिल्लो समय बढ्दो छ । समुदायस्तरमा कोरोना संक्रमण फैलानु, संक्रमित नखुल्नु, व्यवस्थित आइसोलेसन नहुनाले पनि मृत्युदर बढिरहेको बताइन्छ ।
यस्तै सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा रहेका छन् । पछिल्लो अपडेटअनुसार काठमाडौंमा १५ हजार ५२२ जना, भक्तपुरमा ११२९ जना र ललितपुरमा २२०५ जना सक्रिय संक्रमित छन् । हालसम्म काठमाडौं जिल्लामा संक्रमणका कारण २७२ जना, भक्तपुरमा ७१ जना र ललितपुरमा ६७ जनाको मृत्यु भइसकेको छ।
























