Breaking News

चितवनमा चिसो बढ्यो, कोरोनाको जोखिम झनै बढ्न सक्ने भएकोले सावधानी अपनाउन अनुरोध

Banner

चितवन, कात्तिक २२-

चितवनको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । आकाशमा हल्का बादल र तुवालो लाग्दा अन्य दिनको तुलनामा घाम मधुरो लागेको छ ।

भरतपुर विमानस्थलले जनाए अनुसार आजको चितवनको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस पुगेको छ । अघिल्लो दिनमा तापाक्रम २० डिग्री सेल्सियस भन्दा माथि हुने गर्दथ्यो ।

आज भरतपुरमा तापक्रम घटेसँगै यस वर्ष जाडो सुरु भएको महसुस भएको छ । चिसो बढेसँगै बिहान मर्निङवाक गर्नेहरुको संख्या पनि पातलिँदै गएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने छ । ‘दिउँसो घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ,’ मौसमविद् मानन्धरले भन्नुभयो, ‘केही दिन तराईमा पातलो कुइरो लाग्ने र पहाडमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर बनाउनेछ ।’

चितवनमा चिसो बढ्दै गएसँगै कोरोनाको जोखिम पनि बढ्दै जाने भएकोले सचेत रहन चिकित्सक तथा जनस्वास्थ्य विज्ञले अनुरोध गरेका छन् ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसिएन डाक्टर कालीदास अधिकारीका अनुसार जाडोमा व्यक्तिगत सरसफाइमा कम ध्यान दिइने भएकोले  भाइरस सर्न सहयोग पुग्न सक्छ । उहाँले भन्नुभयो, ‘मानिसहरुले जाडोबाट बच्नको लागि ज्याल ढोका बन्द गर्ने भएकोले पनि कोरोना संक्रमण बढ्न जान्छ ।’ डाक्टर अधिकारीले चितवनसहित देशभर कोरोना संक्रमण दर बढ्दै गएकोले पनि मानिसहरुको मृत्यु दर पनि बढ्दै गएको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले संसारभर संक्रमितमध्ये ५ प्रतिशत मृत्युदर छ । चितवनमा पनि मृत्युदर बढ्दै गएको छ ।’ उहाँले चितवनमा पनि प्रारम्भिक अवस्थाको कोरोना संक्रमण भन्दा आजकल जटिल प्रकृतिका बिरामीहरु देखिँदै गएकोले झनै बढी सावधानी अपनाउनुपर्ने बताउनुभयो । धेरै कम प्रतिशत मात्र मानिस मरेका छन् भन्दै लापरबाही गर्न थालेमा चितवनमा कोरोनाले भयाबह रुप लिन सक्ने उहाँको विचार छ ।

चितवन मेडिकल कलेजका जनस्वास्थ्य विषयका प्राध्यापक हरिश्चन्द्र घिमिरेले जाडोको मौसममा देखिने रुघाखोकी तथा अन्य फ्लुको लक्षण कोरोनासँग मिल्दोजुल्दो हुने भएकोले पनि कोरोनालाई फैलन  सहयोग पुग्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>