Breaking News
केन्द्रीय सचिवालय बैठक डाक्न नेकपाका बहुमत सचिवालयको माग, ओली असहमत

काठमाडौँ कार्तिक २२–
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरुले तत्काल केन्द्रीय सचिवालयको बैठक बोलाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।
असन्तुष्ट समूहले नेकपा केन्द्रीय सचिवालय बैठक सहमतिमा आइतबार या सोमबार डाक्न गरेको आग्रहबारे अध्यक्ष केपी शर्मा ओलीले कुनै निष्कर्ष नदिएको बुझिएको छ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम ओलीलाई केन्द्रीय सचिवालय बैठक डाक्न सहमत हुन लिखित पत्रसहित अनुरोध गर्न शनिबार बालुवाटार गएका थिए ।
तर ओलीले त्यसबारे कुनै निष्कर्ष नदिएको प्रवक्ता नारायण काजी श्रेष्ठले बताए ।
‘अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई भेटेर लिखित रुपमा केन्द्रीय सचिवालयको बैठकका लागि, सहमतिका लागि आग्रह गरेका छौँ’, प्रवक्ता श्रेष्ठले भने।
उनले आफूहरुले सकेसम्म छिटो भोलि या पर्सीसम्ममा बैठक डाक्न सहमत हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको जानकारी दिए।
बैठकका लागि प्रचण्डले ओलीलाई पटक–पटक आग्रह गर्दै आएका थिए ।
तर ओलीले केन्द्रीय सचिवालय बैठक डाकेमा त्यसैदिन पार्टी फुटको घोषणा आफूबाट हुने चेतावनी प्रचण्डलाई दिइसकेका छन् ।
























