Breaking News
चितवनमा तरकारीको मूल्य घट्यो, उपभोक्तालाई राहत

चितवन, कात्तिक २०-
दसैंपछि चितवनमा तरकारीको भाउ लगातार घट्न थालेको छ ।
स्थानीय उत्पादन बढ्न थालेपछि चितवनमा तरकारीको भाउ घट्न थालेको हो । तरकारीको मूल्य घटेपछि उपभोक्तालाई राहत भएको छ ।
फलफूल तथा तरकारी थोक व्यवसायी संघका सदस्य शंकरप्रसाद भेटवालले दसैँपछि चितवनमा तरकारीको मूल्य घट्दै गएको नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको सिजनमा चितवनको स्थानीय साग र काउली बजारमा आउन थालेकोले पनि बजार मूल्य सस्तिएको हो ।’ दसैँ अघिसम्म किलोमा एक सय रुपैयाँ घटीमा कुनै पनि तरकारी पाइदैनथ्यो । तर, अहिले भने सय रुपैयाँबाट निरन्तर तरकारीको मूल्यमा गिरावट आइरहेको देखिन्छ । व्यवसायी रौनियारका अनुसार दसैंको बेलामा तरकारीको आपूर्ति नै कम भएकाले मूल्य बढेको थियो ।
व्यवसायीका अनुसार सिमी, काउली, भन्टा, काक्रो, फर्सी, बरेला र हरियो साग एक साताको अवधिमा ६० प्रतिशतसम्म घटेको छ । हरियो खुर्सानी दसैँ अघिसम्म किलोको १४० देखि १५० रुपैयाँ रहेको थियो तर अहिले यसको मूल्य घटेर १०० रुपैयाँमा झरेको छ । गोलभेँडा दसैँ अगाडिसम्म किलोमा १०० रुपैयाँ बढी रहेकोमा अहिले ६५ रुपैयाँ भएको छ भने काउलीको मूल्य घटेर ६५ रुपैयाँमा झरेको छ । त्यसैगरी हरियो सागको मूल्य दसैँ अगाडिसम्म मुठाको १३० रुपैयाँसम्म भएकोमा अहिले मूल्य घटेर २५ रुपैयाँ पुगेको छ । मूलामा पनि किलोको ३० रुपैयाँमा गिरावट आएको छ ।
चितवनमा अहिले तरकारी पालुङ र धादिङबाट भित्रिने गरेको व्यवसायीहरु बताउँछन् ।
चितवनका किसानको खेतखेतमा पुगेर अनलाइन तरकारी व्यवसाय गर्दै आएका व्यवसायी विशाल कोइरालाले दसैँ अगाडि लकडाउन र निषेधाज्ञाको कारणले खरिद कम हुँदा पनि मूल्य बढ्न गएको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले किसानहरुको स्थानीय उत्पादन बजारमा आउन थालेकोले पनि सस्तो हुन गएको छ । ’ निरन्तरको झरीले तरकारी खेतीलाई क्षति गरेको अवस्थामा अहिले पानी पर्न छाडेकोले पनि उत्पादन बढ्न गएको किसानहरु बताउँछन् । आलु, प्याज र लसुनको मूल्यमा भने चितवनका खासै ठूलो अन्तर नआएको व्यवसायी रौनियारले बताउनुभयो । लसुन तथा प्याजमा भारत र चीनकै उत्पादनमा भर पर्नुपरेको व्यवसायीहरुको गुनासो छ ।
























