Breaking News
ओली–प्रचण्डको सल्लाहमा पार्टी फुटाउने काम सही हुँदैन: प्रवक्ता श्रेष्ठ

चितवन, कात्तिक १८-
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले फेरि एकपटक सामाजिक सञ्जालमार्फत पार्टी फुट्न नदिन नेतृत्व तहलाई आग्रह गर्नुभएको छ ।
आज फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले पार्टी अलग–अलग गरौं भन्ने कुरा जुन पक्षबाट आएको भए पनि गलत भएको बताउनु भएको हो । यस सन्दर्भमा प्रवक्ता श्रेष्ठले कसैको नाम नलिए पनि वास्तवमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका एक अध्यक्ष केपीशर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सल्लाहमै अलगअलग हौं भनेर प्रस्ताव गर्नुभएको थियो ।
त्यसैलाई संकेत गर्दै प्रवक्ता श्रेष्ठले लेख्नु भएको छ, ‘सल्लाह गरेर पार्टी अलग–अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही होइन । तर, त्यसमा अन्तर्निहित एउटा पक्ष अर्थात् व्यक्तिगत कटुतासहितको व्यक्तिगत विषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रूपले प्रयोग गरौं।’
‘तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेरझैं व्यक्तिगत झगडा तथा गालीगलौज पनि नगरौं,’ प्रवक्ता श्रेष्ठले लेख्नु भएको छ, ‘पार्टी एकताको रक्षा गरौं । साथै पार्टीलाई अकर्मण्य बनाई विघटन एवम् विसर्जनको दिशामा जान र भ्रष्ट पुँजीवादी पार्टी बन्न पनि नदिआ ैं।’ प्रवक्ता श्रेष्ठले यसअघि पनि सामाजिक सञ्जालमार्फत नै पार्टी विभाजन हुन नदिन नेतृत्व तहलाई अपिल गर्नुभएको थियो ।
यसैगरी उपप्रधानमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पनि सोमबार सामाजिक सञ्जालमार्फत पार्टी फुट्नबाट जोगाउन नेतारकार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।
























