Breaking News
साझा पार्टीले भोली खुलामञ्चमा खाना खुवाउने, भन्योः ‘हेरौँ कसरी रोक्दो रहेछ’

काठमाडौं, कार्तिक १८–
केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आइरहेका छन् । तर त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले निर्देशन नै दिएको छ । महानगरको यस्तो निर्देशनप्रति साझा पार्टीले घोर भर्त्सना गरेको छ ।
पार्टीका प्रवक्ता शरदराज पाठकद्धारा जारी विज्ञप्तीमा मानिवय कार्यलाई रोक्ने निर्देशनको कडा शब्दमा बिरोध गरिएको छ । साझाले कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्नेमा उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको बताएको छ ।
सरकारको सो कदमको विरोध जनाउन भोलि (बुधबार) बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुने हुने प्रवक्ता पाठकले जानकारी दिए । उसले विज्ञप्तीमा भनेको छ–‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।’
साझाले महिनौँदेखि निरन्तर रूपमा अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र गरिरहेको जनाएको छ । साझा पार्टीले नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न समेत अपिल गरेको छ ।
























