Breaking News
काँग्रेसबाट निर्वाचित सांसद सूर्यबहादुर केसीको निधन

पोखरा, कार्तिक १८–
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद सूर्यबहादुर केसीको निधन भएको छ।
६३ वर्षीय केसीको गएराति ११ बजे पोखरास्थित घरमा नै निधन भएको कांग्रेस कास्की सभापति कृष्ण केसीले जानकारी दिएका छन् ।
उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापका बिरामी थिए। उनी बिरामी परेपछि सोमबार घर नजिकको एक अस्पतालमा उपचारार्थ लगिएको भएपनि उपचार शुरु गर्दा गर्दै उनी बेहोस भएका थिए । त्यसपछि डाक्टरकै निगरानीमा घरमा लगिएको भएपनि उनको होस आउन सकेको थिएन । त्यसपछि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ।
केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य थिए । उनी राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए। पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए। उनी राप्रपामा लामो समय राजनीति गरेका थिए । उनी राप्रपाको केन्द्रीय कोषाध्यक्ष र संविधान सभामा सदस्य पनि बनेका थिए ।
युवावस्थामा तत्कालीन पोखरा नगर पंचायतको प्रधानपंच समेत रहेर काम गरेका केसी सफल उद्योगी समेत मानिन्छन् ।
उनको लगानी हाईड्रोपावर, बैंकिंग, चाउचाउ एवं फुड्स र मिडिया लगायतका क्षेत्रमा छ ।
























