खेलकुद
पटिहानीमा बन्दैछ बागमती प्रदेशकै ठूलो कवर्डहल

चितवन, कार्तिक १५–
पछिल्लो समय चितवनको अर्को पटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको क्षेत्रहो भरतपुर महानगरपालिका–२२ पटिहानी । पर्यापर्यटनको उत्कृष्ट स्थानको रुपमा चिनिदै गइरहेको पटिहानीलाई चिनाउने अर्को माध्यम हो खेलकुद । यहाँ भएको जिल्लाकै ठूला अन्तर्राष्ट्रियस्तरको पद्मोदय भलिबल प्रतियोगिताले देशविदेशमा पटिहानीको नाम चिनाएको छ । पर्यापर्यटनसंगै खेलकुद पर्यटनको विकासका लागि अब पटिहानीको ढोका खुलेको छ ।
भरतपुर–२२, पटिहानीस्थित धनौजीमा बागमती प्रदेशकै ठूलो कवर्डहल निर्माण भइरहेको छ । गत वर्षदेखि नै निर्माण सुरुवात गरिएको कवर्डहलको १ करोड बराबरको फाउन्डेसनको काम सम्पन्न भइसकेको छ । अहिले थप ७ करोड बराबरको काम अघि बढेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट बहुवर्षीय योजना अन्तर्गत आगामी २०७८ पौष मसान्तसम्म काम सम्पन्न गर्ने गरि ७ करोड बराबरको टेण्डर आह्वान भइसकेको छ । यहि कार्तिक ३ गते टेन्डर आह्वान भएको र निर्माण कामले थप तिव्रता पाउने भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।
करिब ११ करोडको लागत यस कवर्डहल निर्माण हुनेछ । प्रदेश सरकारले यसलाई प्राथमिकताका साथ अघि बढाएको प्रदेश सांसद रामलाल महतोले बताए । यस बहुउद्देश्यीय कवर्डहल निर्माणले खेलकुदकै माध्यमबाट सिङ्गो महानगरको पर्यटन प्रवद्र्धन गर्नमा थप टेवा पुग्ने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विश्वास व्यक्त गरिन् । कवर्डहल निर्माण क्षेत्र पूर्वप्रधानमन्त्री, नेकपाका कार्यकारी अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र समेत पर्दछ ।
देशकै १०० औं पर्यटकीय गन्तव्यभित्र पर्न सफल पटिहानी पर्यटकीय क्षेत्रमा उनकै पहलमा यो महत्वाकांक्षी योजना सफल हुन लागेको भन्दै पटिहानी युवा तथा खेलकुद विकास परिषदका सल्लाहकार संयोजक रामहरि सेढाईले खुसी व्यक्त गरे । करिब २२०० जना दर्शक क्षमता रहने उक्त कवर्डहलमा विभिन्न ईन्डोरहरु खेलहरु सञ्चालन हुनेछन् ।
























