Breaking News

चाटर्ड बिमानमा आएर रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई भेटी भारत फिर्ता

Banner

काठमाडौँ, कात्तिक ६-

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर भारत फर्किनु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गोयलले बुधबार बेलुका प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारमा भेट्नु भएको हो ।

भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको थापाले बताउनु भयो ।

गोयल इन्डियन एयरफोर्सको जहाजबाट आउनु भएको थियो । आज बिहान १० बजेतिर चार्टर्ड विमान दिल्लीतर्फ फर्किसकेको छ ।  नेकपाका अर्का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ। ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियामा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भन्नु भएको छ,‘संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपिल गर्दछु।’

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले पनि नेपाललाई गोयल काठमाडौं आएको थाहै नभएको बतायो। ‘उहाँलाई भेट्नु त परको कुरा उहाँ आएको पनि थाहा छैन,’ नेपालका एक सहयोगीले भन्नुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वकीय सचिव भानु देउवाले पनि गोयलको आगमनबारे आफूलाई जानकारी नै नभएको र निवासमा कोही पनि भेट्न नआएको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>