Breaking News
चीनको कट्टर आलोचक अमेरिकी राष्ट्रपति ट्रम्पको बैँक खाता चीनमा भेटियो

वासिङ्टन, कात्तिक ५-
चीनको कट्टररुपमा आलोचना गर्दै आउनु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनमा बैँक खाता रहेको स्वीकार गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।
यो बैंक खाता ट्रम्प इन्टरनेशनल होटल्स म्यानेजमेन्टको नाममा सञ्चालित छ । सन् २०१३ देखि २०१५ को बिचमा यो बैँक खाताबाट स्थानीय कर पनि भुक्तान गरिएको थियो ।
डोनाल्ड ट्रम्पका प्रवक्ताका अनुसार एशियामा होटल क्षेत्रमा सम्झौताको सम्भावनाको खोजीका लागि यो बैँक खाता खोलिएको थियो । राष्ट्रपति ट्रम्प चीनमा व्यापार गर्ने अमेरिकी कम्पनीको आलोचना गर्दै आउनु भएको छ र उहाँले चीनविरुद्ध व्यापारिक युद्ध छेड्नु भएको छ ।
न्यूयोर्क टाइम्सले डोनाल्ड ट्रम्पको कर रेकर्डबाट उहाँको यो बैँक खाताबारे पत्ता लगाएको हो । जसमा डोनाल्ड ट्रम्पका व्यक्तिगत र कम्पनीका वित्तीय विवरण उल्लेख गरिएको थियो ।
सन् २०१६–१७ मा ट्रम्प अमेरिकाका राष्ट्रपति बन्नु भएको थियो । त्यस समयमा अमेरिकी फेडरल ट्याक्सका रुपमा उहाँले ७५० अमेरिकी डलर भुक्तानी गरेको अखबारले आफ्नो पछिल्लो रिपोर्टमा उल्लेख गरेको थियो ।
यस विषयमा स्पष्टिकरण दिँदै राष्ट्रपति ट्रम्पले आफूले कर कम तिर्ने धेरै नियमको फाइदा उठाएका कारण यति कम कर तिरेको बताउनु भएको छ । अखबारको ताजा रिपोर्टअनुसार ट्रम्पको चीनको खाताबाट स्थानीय करमा एक लाख ८८ हजार ५६१ अमेरिकी डलर भुक्तानी गरिएको छ ।
अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । चुनावको प्रचारका क्रममा पनि राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडन र चीनलाई लिएर उहाँको नीतिको आलोचना गर्दै आउनु भएको छ । आफ्नो चुनावी अभियानका क्रममा उहाँले डेमोक्रेट पार्टीका राष्ट्रपति पदका उम्मीदवार जो बाइडनका छोरा हन्टर र चीनबीच व्यापारिक सम्बन्ध रहेको बताउने गर्नु भएको छ ।
(न्युयोर्क टाइम्सबाट)
























