Breaking News
रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले धुर्मुस-सुन्तली फाउण्डेसनलाई दियो डेढ करोड

चितवन,कार्तिक २-
भरतपुर महानगरपालिकाले रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई आज एक करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई एक करोड ५० लाख रूपयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
भरतपुर महानगरपालिकाले आन्तरिक श्रोतबाट विनियोजित चार करोडमध्ये पहिलो चरणमा ५० लाख रुपैयाँ र अहिले दोस्रो चरणमा एक करोड ५० लाख रुपैयाँ प्रदान गरिएको महानगर प्रमुख दाहालले जानकारी दिनुभयो । उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कोरोना कहरका बीचमा पनि तिव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा बिनियोजितमध्येको रकम थप्दै लगिने बताउनुभयो ।
महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले रंगशाला निर्माणको काम अगाडि बढाइरहेकोमा फाउण्डेसनलाई धन्यवाद दिँदै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताउनुभयो ।
फाउण्डेसनका अध्यक्ष कट्टेलले एक करोड ५० लाख रुपैयाँको चेक महानगरले प्रदान गरेकोमा महानगर प्रमुख रेनु दाहाललाई धन्यवाद दिँदै निर्माण कार्यले थप गति लिने बताउनुभयो । उनले अन्य रकमको बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गर्नुभयो ।
























