Breaking News

विश्व भोकमरी सूचकांक: भोकमरीमा भारत र पाकिस्तान भन्दा नेपालको अवस्था राम्रो

Banner

चितवन, कात्तिक १-

विश्व भोकमरी सूचकांक–२०२० मा नेपाल ७३ औं स्थानमा परेको छ ।

विश्वका १०७ देश समेटिएको उक्त सूचीमा नेपाल दक्षिण एसियाली राष्ट्र भारत, पाकिस्तान, बैगलादेश र अफगानिस्तानभन्दा अघि रहेको छ ।

गत वर्ष पनि नेपाल उक्त सूचीको ७३औं स्थानमा रहेको थियो। यस वर्षको सूचीमा नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा श्रीलंकाभन्दा मात्र पछि रहेको छ । सूचीमा दुई दक्षिण एसियाली राष्ट्र भुटान र माल्दिभ्स समेटिएका छैनन् । भुटान र माल्दिभ्सबाट आवश्यक तथ्यांक प्राप्त नभएका कारण नसमेटिएको ग्लोबल हंगर इन्डेक्स (जीएचआई)ले प्रतिवेदनमा उल्लेख गरेको छ।

सूचीको पहिलो नम्बरमा बेलारुस रहेको छ । छिमेकी चीन पाँचै नम्बरमा रहेको छ । सूचीमा दक्षिण एसियाली राष्ट्रहरु श्रीलंका ६४, नेपाल ७३, भारत ९४, बंगलादेश ७५, पाकिस्तान ८८ र अफगानिस्तान ९९ स्थानमा रहेका छन् । अध्ययनमा विश्वका १३२ देशलाई समेटिएको थियो । ती देशमध्ये २५ देशबाट आवश्यक तथ्यांक प्राप्त नभएपछि १०७ देशको सूची जीएचआईले हालै सार्वजनिक गरेको हो ।

कुपोषण, पाँच वर्ष मूनिका बालबालिकाको मृत्युदर, बालबालिकाको उचाईको तुलनामा तौल र उमेर अनुसारको उचाइलाई सूची तयार पार्दा अध्ययनको मुख्य आधार बनाइएको थियो। ग्लोबल हंगर इण्डेक्स–२०२० मा नेपालले १९.५ अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष नेपालले २०.८ अंक प्राप्त गरेको थियो । यो सूचीमा जति कम नम्बर ल्यायो अवस्था त्यति सुध्रिएको मानिन्छ ।

सन् २००० मा नेपालले ३७.४, सन् २००६ मा ३१ र सन् २०१२ मा २२.८ अंक ल्याएको थियो। नेपालले ग्लोबल हंगर सूचीमा आफ्नो अवस्था प्रत्येक वर्ष सुधार्दै आएको छ । सूचीको अन्त्य अर्थात् १०७ नम्बरमा रहेको चाडले ४४.७७ अंक प्राप्त गरेको छ । सूचीमा रहेका १०७ देशलाई जीएचआईले चार समूहमा वर्गीकरण गरेको छ । खतरनाक, गम्भीर, मध्यम र न्यून । ९.९ अंक ल्याउनेलाई न्यून समूहमा राखिएको छ, जहाँ भोकमरीको समस्या सबैभन्दा कम रहेको छ ।

१० देखि १९.९ अंक ल्याउनेलाई मध्यम समूहमा राखिएको छ। यो समूहमा नेपाल रहेको छ। यो समूहमा रहेका देशमा भोकमरीको समस्या ठूलो छैन । २० देखि ३४.९ अंक ल्याउनेलाई गम्भीर समूहमा राखिएको छ, जहाँ छिमेकी भारत पनि रहेको छ। यो समूहका देशमा भोकमरीको समस्या गम्भिर रहेको छ । ३५ देखि ४९.९ अंक ल्याउने देशहरुलाई खतरनाक समूहमा राखिएको छ। यो समूहमा पर्ने देशहरुमा भोकमरीको समस्या विकराल छ।

प्रतिकात्मक तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>