Breaking News

प्रधानमन्त्री ओली भन्छन् – ‘९ अर्ब भ्रष्टाचार गर्‍याे’ भन्ने बाबुरामको अभिव्यक्ति गैरजिम्मेवार

Banner

काठमाडौं, असाेज ३०-

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शीर्ष नेतामाथि बुढीगण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली बोल्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपमा सत्यता नभएको भन्दै खण्डन गर्नुभएकाे छ । ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डा. भट्टराईकाे आरोप गैरजिम्मेवार र निराधार अभिव्यक्ति भएकाे उहाँले बताउनुभयाे ।

‘केही गैरजिम्मेवार तत्वहरू गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु । एउटा निर्णय नभएको, कसैले नलिएको, कार्य आरम्भ नभएको र त्यो हुन्छ-हुँदैन, कसले गर्छ, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीहरू मिलेर यति अर्ब खायो भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु,’ प्रधानमन्त्री ओली भन्नुभयाे ।

देश र जनतालाई गलत सूचना दिएर भ्रममा पारेर भड्काएर गलत बाटोमा लाने कुचेष्टा, हर्कत आफूहरूले गर्न नसक्ने बताउँदै उहाँले भन्नुभयाे, ‘यस्ता गैरजिम्मेवार अभिव्यक्ति, निराधार अभिव्यक्ति एउटा कुरा हो । तर हामी त्यस्तै गैरजिम्मेवार हुन सक्दैनौं । त्यति अनुत्तरदायी हुन सक्दैनौं । देश र जनतालाई गलत सूचना दिएर भ्रममा पारेर भड्काएर गलत बाटोमा लाने कुचेष्टा, हर्कत हामी गर्न सक्दैनौं । हामी सत्य निष्ठा र जिम्मेवार भावका साथ मात्रै अगाडि बढ्न सक्छाैँ ।’

केही दिनअघि एक कार्यक्रममा डा भट्टराईले भने, ‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ। म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन्’, भट्टराईले थपे, ‘मलाई थाहा छ यो कुरा। प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु दस, आठ वटा आयोजनाबाट अर्बौंअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन् । चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको हो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>