चितवन विशेष
धर्मान्तरणरूपी महारोगलाई रोक्नुपर्छः प्रदेश सांसद गुरुङ

माधव सापकोटा
चितवन, असोज २९–
वाग्मती प्रदेश सभा सदस्य रीना गुरुङले प्राकृतिक विपत् र महामारीका बहानामा धर्मान्तरण र मौलिक सांस्कृतिक आक्रमणरूपी महारोग बढिरहेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।
भरतपुर महानगरपालिका–४ लंकुमा जारी विश्व जनजागरणात्मक एकमासव्यापी श्रीमद्भगवद्–राम–कृष्ण–कथामृत ज्ञान महायज्ञमा बोल्दै सांसद गुरुङ नेपालको धार्मिक र मौलिक सांस्कृतिक माथि भइरहेको आक्रमण प्रति चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले कोरोनाका बहाना गर्दै धार्मिकस्थलहरुलाई सामाजिक दूरी कायम गरेर खुलाउनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले मन्दिर निर्माणका लागि आगामी दिनहरूमा विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै तत्कालका लागि आफ्नो १५ दिनको तलब प्रदान गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रम महेश सन्यास आश्रम देवघाटधामका पीठाधीश स्वामी रमणानन्द गिरिको परम विशिष्ट आतिथ्य र मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । चरणगतरूपमा असोज १० गतेदेखि प्रारम्भ भएको यस महायज्ञ कार्तिक ९ गतेसम्म चल्ने छ । यस महायज्ञको चौँथो चरणमा अहिले युवा विद्वान् डा.चक्रपाणि आचार्यको प्रवचन चलिरहेको छ । पाँचौँ चरणमा आगामी कार्तिक १ र २ गते युवा विद्वान् बहुमुखी प्रतिभाका धनी आचार्य मनोज भण्डारीबाट प्रवचन हुने महायज्ञ सम्पादन समितिका सदस्य डा.गोपीनाथ कँडेलले जानकारी दिनुभयो ।
विशेष वास्तुकलाले युक्त जीर्णोद्धारात्मक श्रीलक्ष्मी वैकुण्ठनाथ मन्दिर नव निर्माणकार्यको सम्पूर्ति एवम् अक्षयकोषका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । कोरोनाका कारण अहिले सञ्चारमाध्यमबाट दर्शन तथा प्रवचन श्रवण गर्न सकिने गरी महायज्ञ आयोजना गरिएको हो ।
























