चितवन विशेष

चितवन सिद्धिका किसानलाई मौरीको घार वितरण

Banner

चितवन, असोज २९-

सौराहाको सपना भिलेज सोसल इम्प्याक्टले सिद्धिका ६ जना किसानलाई बिहीबार मौरीको घार वितरण गरेको छ ।

इम्प्याक्टले सञ्चालन गरेको प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक परियोजनाले कालिका नगरपालिका वडा नं १० र ११ अन्तर्गत पर्ने किसानहरुलाई जनही २०\२० वटा मौरीको घार वितरण गरेको हो ।

पाँच घार सम्बन्धित किसानले खरिद गर्नुपर्ने गरी २०\२० घार मौरी प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जनाकारी दिनुभयो । बिहीबार वडा नं १० का नरबहादुर तामाङ, कविराज तामाङ, सूर्यबहादुर सुनार र वडा नं ११ का प्रदिप चेपाङ, मित्रलाल चेपाङ र बुद्धिबहादुर चेपाङलाई मौरीको घार प्रदान गरिएको हो ।
रत्ननगरका मौरीपालक किसान सूर्य मानन्धरको फर्ममा कालिका नगरपालिकाका नगरप्रमुख खुमनारायण श्रेष्ठ, रत्ननगरका नगर प्रमुख नारायण वन र इम्प्याक्टका अध्यक्ष गिरीले ६ जना युवाहरुलाई मौरीको घार हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा कालिकाका मेयर श्रेष्ठले सिद्धिका युवालाई व्यवसायिक बनाउन सपना भिलेजसँग सहकार्य गरी मौरीसहितको घार प्रदान गरिएको भन्दै उपलब्धि हासिल गर्ने गरी मौरीपालन व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । रत्ननगरको नगर प्रमुख वनले स्थानीय सरकार र सपना भिलेजको सहकार्यमा भएको विपन्न वर्ग उत्थान कार्यक्रम उदाहरणीय रहेको भन्दै मौरीपालनबाट चेपाङ समुदायको आर्थिक अवस्था सुधार हुनेमा विश्वास व्यक्त गर्नुभयो । इम्याक्टका अध्यक्ष गिरीले बिहीबार १३ लाख ८० हजार मूल्य बराबरको १२० वटा मौरीको घार वितरण गरिएको जानकारी दिनुभयो । त्यसमा तीन लाख रुपैयाँ कालिका नगरपालिकाले लगानी गरेको छ । स्थानीय सरकार, किसान र सपना भिलेजको त्रिपक्षीय लगानीमा व्यवसायिक रुपमा मौरीपालन गर्ने गरी मौरीसहितको घार प्रदान गरिएको बताउनुभयो । अहिले मौरीको घार प्राप्त गरेका युवाहरुले तीन वर्षभित्र २० घर मौरी फिर्ता गर्नुपर्ने हुन्छ । पहिलो र दोस्रो वर्ष पाँच पाँच घार र तेश्रो वर्ष १० घार मौरी फिर्ता गर्नुपर्ने र फिर्ता गर्न नसके क्षतिपूर्ति तिर्नुपर्ने गरी त्रिपक्षीय सहमति गरिएको इम्प्याक्टका म्यानेजर अनिल अर्यालले जानकारी दिनुभयो ।

गत वर्ष सपना भिलेजले सिद्धिका १० जना युवाहरुलाई २०० घर वितरण गरिएको थियो । इम्प्याक्टका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका वडा नं ६ का वडाध्यक्ष विनोद रेग्मी, वडा नं १० का वडाध्यक्ष दीलबहादुर गुरुङलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>