Breaking News
भरतपुरको बाइपास सडक विस्तारको काम अलपत्र, ठेकेदारलाई कारबाहीको तयारी

चितवन, असोज २९-
भरतपुरको चौबिसै घण्टा व्यस्त रहने बाइपास सडक विस्तारको काम अलपत्र परेको छ । चार पटकसम्म म्याद थप गर्दा पनि सडक विस्तारले पूर्णता पाउन नसकेपछि नागरिकमा आक्रोश बढेको छ । २०७३ पुस १९ मा १५ महिनाभित्र सम्पन्न गर्ने गरी सडक विस्तारको ठेक्का गौरीपार्वती निर्माण सेवा काठमाडौँले पाएको थियो । गौरीपार्वती निर्माण सेवाले कुल १२ करोड ८१ लाख ८२ हजार रूपैयाँमा ठेक्का पाएको हो । २०७३ चैत १९ गतेबाट सडक विस्तारको काम सुरू गरेको गौरीपार्वतीले अहिलेसम्म पनि सडक निर्माणको काम नसकेर अलपत्र पारेको हो ।
यो सडक विस्तारलाई नजिकबाट निहालिरहनु भएको प्रदेश सांसद विजय सुवेदीले निरन्तर भनिरहँदा पनि काम हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘ भनेको समयमा काम भए जस्तो गर्ने र अघिपछि ठेकेदारले काम गरेजस्तो गरेर अलपत्र पार्ने गरिएको छ ।’ सांसद सुवेदीले काममा ढिलाइ हुँदा आवागमनमा नै समस्या हुने गरेको बताउनुभयो । काम नगर्ने ठेकेदारलाई कसरी कारबाही गर्ने हो विधि प्रक्रिया बुझ्नुपर्ने भएको उहाँले बताउनुभयो । उहाँले सडक निर्माणको लागि जनस्तरबाट दबाब पनि दिनुपर्ने विचार राख्नुभयो ।
सडक निर्माणबारे अनुगमन गर्ने अधिकार पाएको डिभिजन सडक कार्यालय भरतपुरसँग पनि सडक विस्तारमा भएको ढिलाइबारे चित्तबुझ्दो जवाफ छैन । ठेकदार कम्पनीलाई बारम्बार चिठी लेखेर ताकेता गर्दा पनि काम नभएको कार्यालयका प्रमुख कृष्णराज अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ राम्रोसँग काम गर्ने हो भने एक महिनामा नै काम सकिन्छ तर ठकेदारले काम नै गर्दैन । कोरोनाको कारणले फेरि स्वतः पुससम्म म्याद थपिएको छ । ठेकदार सारै बदमास परेछ ।’
दुई वर्षअघि २०७५ सालमा नै विस्तारको काम सक्नुपर्ने हो । दुई वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीमाथि सडक डिभिजन कार्यालयले कारबाहीको प्रक्रिया अघि बढाउन सकेको छैन । कारबाही भनेको कागजीरुपमा मात्र हुने भएकोले ताकेता गरिरहेको प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कारबाहीको ठेकेदार कम्पनी गौरी पार्वती निर्माण सेवाको बैँक ग्यारेन्टी रोक्ने कामसम्म गरेका छौं । अब कारबाहीको प्रक्रिया अगाडि बढाउँदै छौं ।’ यस निर्माण सेवाले केन्द्रिय बसपार्कसम्मको २.३ किलोमिटर सडक विस्तारको जिम्मा पाएको हो ।
२०७३ पुस १९ मा २२ सय मिटर सडक चार लेनमा बिस्तार गर्ने गरी ठेक्का सम्झौता भएको थियो । ४६ सय मिटर लम्बाई रहेको यो सडकको बाँकी २४ सय मिटर चार लेनमा बिस्तार गर्ने गरी बहुबर्षीय योजना अन्तर्गत टेण्डर आह्वान भएको थियो । केन्द्रीय बसपार्क चोकदेखि विकास चोकसम्मको २२ सय मिटर चार लेन विस्तारका लागि सम्झौता भएको थियो । दुईतर्फको राजमार्ग जोड्ने यो सडकको झण्डै आधा सडक चार लेनमा बिस्तार गर्ने काम अहिले अलपत्र परिरहेको छ भने अब बाँकी सडक विशालचोकदेखि आँपटारीसम्मको खण्ड पनि चार लेनमा बिस्तार गर्ने गरी ठेक्का आह्वान भइसकेको छ । २० महिनामा सम्पन्न गर्ने गरी फुटपाथ र नालासहित चार लेनमा सडक निर्माण गर्ने गरी ठेक्का आह्वान भएको छ । त्यसैगरी भर्खरै यसै सडकखण्डको सानो ट्रयाक बनाउने ठेक्का पनि भएको छ । भरतपुरस्थित केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको चार दशमलव ६ किलोमिटर सडकलाई आधुनिक डिजाइनमा सवारी चाप अनुसार निर्माण गर्ने योजना रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । सडकको चौडाइ भाग दुईतर्फी ढलसहित २४ मिटरको हुने र १४ मिटर पिच हुनेछ ।
यसअघि ठेक्का आह्वान भएको आधा खण्डको २०७६ चैतसम्म अन्तिम पटकका लागि म्याद थप भएको र अब पनि सडक निर्माण नसके नियमअनुसार कारबाही हुने सडक डिभिजन कार्यालयका अधिकारीले बताए पनि अहिलेसम्म नत काम सकिएको छ नत कुनै कारबाही नै भएको देखिन्छ । यस सडक विस्तारका लागि बिजुलीका ३००, टेलिकमका ८८ वटा पोल सारिएको छ भने ९६ वटा रूख काटिएको छ । खानेपानीको पाईप सार्नुपर्ने लगायतका कारण देखाउँदै निर्माण कम्पनीले पटक–पटक समय थपेको थियो । अब भने यी सबै समस्या समाधान भएका छन् तर निर्माण कार्य अलपत्र परिरहँदा सम्बन्धित क्षेत्रका सरोकारवालालाई सडकले गिज्याइरहेको छ ।
























