Breaking News

नारायणगढको क्याम्पाचौरमा ‘मिनी स्टेडियम’ बन्ने, डिपिआर निर्माण गरिदै

Banner

चितवन,असोज २९-

चितवनको नारायणगढमा रहेको क्याम्पाचौरलाई ‘मिनी स्टेडियम’ बनाइने भएको छ । राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरु हुँदै आएको क्याम्पाचौरलाई ‘मिनी स्टेडियम’ बनाउन लागिएको हो । स्टेडियम निर्माणका लागि सरोकारवालाहरुसंग छलफल गरिएको छ । बजारको बीचमा खाली रहेको क्याम्पाचौरको अब पुरानै अवस्थामा नरहने प्रदेशसभा सदस्य विजय सुवेदीले बताउनुभयो । उहाँले फुटबलसहितका खेल खेल्न मिल्नेगरी स्टेडियम बनाउन लागिएको जानकारी दिनुभयो । “क्याम्पाचौरलाई साझा सम्पत्तीको रुपमा विकास गर्ने हो,” उहाँले भन्नुभयो, “क्याम्पाचौर पुरानै अवस्थामा रहन अव सुहाउँदैन ।” उहाँले सबैको सल्लाहा र सुझाब अनुसारको स्टेडियम बनाइने बताउनुभयो । निजी क्षेत्रसंग पनि सहकार्य गरेर काम गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । “चितवनमा क्रिकेट रंगशाला बन्दैछ, तर त्यसले मात्रै प्रयाप्त हुँदैन, अन्य मैदानहरुलाई पनि स्टेडियमको रुपमा विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

क्याम्पाचौरको विकासका लागि प्रारम्भिक चरणमा प्रदेश सरकारले ४० लाख रुपैंया बजेट विनियोजन गरेको छ । प्रदेशबाट विनियोजन भएको रकम गुरुयोजना अनुसार आवश्यकताका आधारमा खर्च गरिने सुवेदीले बताउनुभयो । उहाँले डिपिआर निर्माण पश्चात आवश्यक बजेटको व्यवस्था गरिने जानकारी दिनुभयो । स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा स्टेडियम निर्माण गरिने उहाँको भनाई छ । “चितवनको खेलकुदको केन्द्र क्याम्पाचौर हो,” सुवेदीले भन्नुभयो’, “यहाँ जिल्ला स्तरिय र राष्ट्रिय खेलकुद प्रतियोगिताहरु हुने गरेका छन ।”
भरतपुर महानगरपालिकाले न्यूनतम पाँच करोड क्याम्पाचौरलाई ‘मिनी स्टेडियम’ निर्माणका लागि राख्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अनुरोध गरेको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताउनुभयो । “क्याम्पाचौरमा जिल्लाका महत्वपूर्ण खेल कार्यक्रम र अन्य सभा सम्मेलनहरु हुने गरेका छन्,” उहाँले भन्नुभयो, “महानगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दैछ ।”

भरतपुर महानगरपालिका वडा नं. २ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठले क्याम्पाचौर चितवनको गहना भएको बताउनुभयो । उहाँले सबै मिलेर क्याम्पाचौरको विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले अतिक्रमणमा परेको जमिनको खोजी गरेर तारबार समेत गरिने जानकारी दिनुभयो ।

बालकुमारी उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीले नयाँ समिति आएपछि विद्यालयको शैक्षिक गुणस्तरसंगै अन्य विकासका कुरामा ध्यान दिएको बताउनुभयो । उहाँले क्याम्पाचौरको डिपिआर निर्माणका लागि विद्यालयका पूर्व विद्यार्थी इन्जिनियर सहितको टिमलाई जिम्मा दिइने बताउनुभयो । क्याम्पाचौरको जग्गा बालकुमारी उच्च मावि मातहत रहेको छ ।
प्रारम्भिक चरणमा क्याम्पाचौरको खाल्डो पुर्ने र डिपिआर निर्माणको काम गरिने अधिकारीले बताउनुभयो । उहाँले क्याम्पाचौरमा सफाइको काम सुरु भइसकेको जानकारी दिनुभयो ।

नारायणगढका स्थानीय बुद्धीकुमार क्याम्पाचौरमा स्टेडियम खेलकुद प्रेमीहरुका लागि लागि महत्वपूर्ण भएको बताउनुभयो । क्याम्पाचौरमा निर्माण हुने मिनी स्टेडियमले नारायणगढको भविष्य उज्वल हुने उहाँको भनाई छ । “विगतमा भएका पहलले सार्थकता पाउन सकेन उहाँले भन्नुभयो’, यसपटक स्टेडियम बन्नेमा ढुक्क छु ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>