Breaking News

यस वर्ष परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै विद्यार्थी उत्तीर्णको व्यवस्था

Banner

काठमाडौं,असोज २८-

कोरोना महामारीका कारण यो वर्ष वैकल्पिक माध्यमबाट अध्ययनअध्यापन भइरहेको छ। अनलाइन, रेडियो, टेलिभिजन, स्वाध्याय सामग्रीमार्फत पठन पाठन भइरहेको छ। असोज १ गतेबाट विद्यार्थी सिकाई सहजीकरण अनुसार पठनपाठन भइरहेको छ। त्यसका लागि अहिलेको पाठ्यक्रममा केही परिमार्जन गरेर सजिलो बनाइएको छ। विगत वर्षमा हुने गरेका परीक्षाहरू यो वर्ष नगर्ने मनसायमा सरकार छ। त्यसका लागि आन्तरिक मूल्यांकनमार्फत नै विद्यार्थीलाई पास गरिनेछ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका र पाठ्यवस्तु समायोजन ढाँचाले मूल्याङ्कनलाई नै जोड दिएको भन्दै त्यहीअनुसार अगाडि बढिने बताए। “यो वर्ष पढाएर परीक्षा लिइदैँन। सिकाएर विद्यार्थीको मूल्याङ्कन गरिन्छ। त्यसकै आधारमा विद्यार्थीको कक्षोन्नति गरिनेछ” भट्टराईले भने। वैकल्पिक विधिबाट सिकिरहेका विद्यार्थीको मूल्याङ्कन के कसरी गर्ने भन्ने अन्योल रहेका बेला केन्द्रका प्रवक्ता समेत रहेको निर्देशक भट्टराईले परीक्षा नगरेर मूल्यांकनको आधारमा हुने बताए।

उनका अनुसार शिक्षकहरुलाई तीन घण्टे परीक्षामा नअल्मलिन आग्रह गर्दै वैकल्पिक माध्यमबाट सिकेका विद्यार्थीलाई ५० भन्दा बढी तरिका अपनाएर मूल्याङ्कन गर्ने विधि पाठ्यवस्तु समायोजन ढाँचामा दिइनेछ। अंकको अल्झनमा परेर ग्रेडिङ गर्नेभन्दा पनि विद्यार्थीले जानेको र उनीहरूले गरेका क्रियाकलापलाई आधार मानी शिक्षकले मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ।

“विद्यार्थीले पठ्यक्रमले निर्धारण गरेको कुरा सिके नसिकेको नै प्रमुख हुन्छ। त्यसका लागि विद्यालयमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा नै गर्नुपर्छ भन्ने छैन्। मूल्यांकन गरेर अगाडि बढ्नुपर्छ”, उनले भने, “उनीहरुले के सिके भन्नेबारे कसरी मूल्याङ्कन गरियो भनेर शिक्षकले प्रमाण राख्नुपर्नेछ। गृहकार्य गराएको हो वा परियोजना कार्य ? अथवा टेलिफोनबाट प्रश्न सोधिएको हो ? त्यसको प्रमाण शिक्षकले राख्नुपर्छ। त्यो नै कार्यसञ्चयिका हो। अनिमात्र त्यसले मान्यता पाउँछ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>