चितवन विशेष

पूर्वीय संस्कृतिको रक्षा गर्न संस्कृत गुरुकुलको संरक्षण आवश्यक : सांसद पोखरेल

Banner

माधव सापकोटा

चितवन, असोज २७-

चितवन क्षेत्र नं .२ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले महान् पूर्वीय संस्कृतिको संरक्षण गर्न संस्कृत गुरुकुलको रक्षा हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

उहाँले विश्वको पवित्र देवभूमि नेपालमा जन्म लिन पाउनु नै ठूलो भाग्य भएको र हाम्रा आहार-विहार पूर्वीय सभ्यता महान् रहेको जनाउँदै हामीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउनुभएको छ । उक्त कुरा भरतपुर-४, लंकुमा विशेष वास्तुकलाले युक्त जीर्णोद्धारात्मक श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर नव निर्माणकार्यको सम्पूर्ति एवम् अक्षयकोषका लागि सहयोग जुटाउने उद्देश्यले वर्तमान विषम परिस्थितिका कारण समयसापेक्ष ढंगले विशेषत: सञ्चारमाध्यमबाट दर्शन तथा प्रवचन श्रवण गर्न सकिने गरी आयोजना गरिएको विश्व जनजागरणात्मक एकमासव्यापी श्रीमद्भगवद्-राम-कृष्ण-कथामृत ज्ञान महायज्ञ २०७७ मा सम्बोधन गर्दै बताउनुभएको हो ।

उहाँले मन्दिरद्वारा संचालित संस्कृत गुरुकुलका लागि सरकारबाट विशेष सहयोगका लागि पहल गर्नेसमेत प्रतिबद्धता गर्नुभएको छ ।चरणगतरूपमा असोज १० गतेदेखि प्रारम्भ भएको र कार्तिक ९ गतेसम्म चल्ने यस महायज्ञको चौँथो चरणमा आजबाट असोज ३० गतेसम्म युवा विद्वान् डा.स्वामी चक्रपाणि आचार्यज्यूको प्रवचन सुरु भएको छ । मन्दिर निर्माण सहयोगार्थ २५१ जना आजीवन अभिभावकहरू पूर्ण भएपछि मन्दिर संचालनार्थ १५१ जना नव मन्दिर- संचालन-अक्षयकोष-संस्थापकहरू बनाउने गरी थप कार्यक्रम ल्याइएको र अहिलेसम्म ७५ जना अक्षयकोषका संस्थापकहरू बनिसकेको नव मन्दिर-सञ्चालन अक्षय कोष संस्थापन अभियानका संयोजक सावित्री कँडेलले जानकारी दिनुभयो।

मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यज्यूको निर्देशकत्व तथा ईश्वरकृष्ण महाराजज्यूको प्रधान परामर्शकत्व र व्यवस्थापकत्वमा नेपालका विभिन्न ख्यातिप्राप्त कथावाचकहरूबाट प्रवचन भइरहेको टेलिभिजन, युट्युब, फेसबुक आदि सञ्चारमाध्यमबाट यज्ञ दर्शन र प्रवचन श्रवण गर्न सकिने यस कार्यक्रमप्रति आकर्षण बढिरहेको र देश-विदेशबाट वैदिक सनातन धर्मानुरागी जनहरूले अत्यन्त उत्साहपूर्वक सम्पर्क गर्दै सहयोग गरिरहेको महायज्ञ सम्पादन समितिका सदस्य रोमाकान्त कँडेलले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>