Breaking News

चितवनमा भयावह बन्यो कोरोना, कोभिड आइसीयू संक्रमितले भरियो

Banner

चितवन, असोज २७–

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अवस्था भयावह बनेको छ ।

दैनिक एक सयको हाराहारीमा संक्रमित फेला पर्न थालेका छन् । संक्रमितको संख्या बढ्नुको साथै गम्भिर प्रकृतिका बिरामी समेत बढ्न थालेपछि अस्पतालका शैय्याहरु भरिन थालेका छन् । कोभिडका बिरामीका लागि छुट्याइएको आइसीयू बेड भरिएका छन् । जिल्लाका ठूलो अस्पताल चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजको आइसीयू बेड संक्रमितले भरिएको छ ।

पछिल्लो समय दैनिकजसो गम्भिर प्रकृतिका संक्रमित थपिदै गएका छन् । भरतपुर अस्पतालका अध्यक्ष एवंम वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले लकडाउन खुकुलो भएसंगै जिल्लामा गम्भिर प्रकृतिका संक्रमित बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो–‘पहिले २ प्रतिशत गम्भिर प्रकृतिका संक्रमित थिए, अहिले १० प्रतिशतको हाराहारीमा पुग्ने अवस्था छ ।’ उहाँले समुदायस्तरमा नै कोरोना फैलिएकोले यस्तो अवस्था आएको बताउनुभयो । उहाँले थप्नुभयो–‘हरेकको घरमा कोरोना पुग्ने अवस्था बनेको छ, घरमा रहेका वृद्धवद्धामा संक्रमण भएपछि उनीहरुलाई आइसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ, घरमा कसैले पनि मास्क नलगाउने भएकाले पनि सहजै वृद्धवृद्धामा संक्रमण फैलिने संभावना बढेको छ ।’

डा.अधिकारीले कोरोना संक्रमणले दीर्घरोगीलाई बढी समस्या पार्ने भएकाले ५० देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरु बढी आइसीयूमा उपचार गराउनुपरेको बताउनुभयो । भरतपुर अस्पतालमा रहेको १० बेडको आइसीयू कक्ष पुरै संक्रमितले भरिएको छ । केही संक्रमितको मृत्यु हुने वित्तिकै अन्य संक्रमितलाई आइसीयूमा राख्नुपर्ने अवस्था आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । भरतपुर अस्पतालमा कोभिडका लागि कुल १७५ बेड रहेको छ । यहाँ अन्य बेड भन्दा आइसीयू बेडको अभाव भएकाले समस्या निम्तिने गरेको छ । अस्पतालले बेडको क्षमता बढाउने तयारी गरिरहेको छ ।

यस्तै सबैभन्दा धेरै संक्रमितको उपचार भइरहेको चितवन मेडिकल कलेज (सिएमसी) पनि संक्रमितले भरिभराउ छ । यहाँ रहेको ५९ बेडको कोभिड आइसीयू पुरै भरिएको छ । अस्पतालका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले भन्नुभयो–‘कोभिडका लागि हामी छुट्याएको सबै बेडमा संक्रमितले भरिएको छ, अन्य गम्भिर प्रकृतिका संक्रमितलाई उपचार गरान नसक्ने अवस्था सिर्जना भएको छ ।’

सिएमसीमा कोभिड संक्रमितका लागि पाँच वटा भेन्टिलेटर रहेको छ भने कोभिड वार्ड ६२ र आइसोलेसन कक्ष ८३ बेडको रहेको छ । यहाँ चितवनका मात्र नभइ अन्य जिल्लाबाट समेत संक्रमितहरु रिफर भएर उपचारका लागि आउने गरेका छन् । अध्यक्ष डा.न्यौपानेले भन्नुभयो–‘यहाँ चितवनका मात्रै संक्रमित छैनन्, देशका विभिन्न ठाउँबाट संक्रमित आउने भएकाले पनि हामीलाई व्यवस्थापनमा कठिनाई भइरहेको छ ।’

यस्तै पुरानो मेडिकल कलेज एक सय बेड कोभिडका लागि छुट्याएको छ । यहाँ पनि सबै बेड संक्रमितले भरिन थालेको छ ।

पछिल्लो समय लकडाउन खुकुलो भएसंगै संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । जिल्लामा प्रयोगशालाको संख्या थपिएसंगै संक्रमितको संख्या पनि बढ्न थालेको हो । हाल भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला, चितवन मेडिकल कलेजको प्रयोगशाला र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा कोरोना भाइरस परीक्षण भइरहेको छ ।

लकडाउन खुकुलो भएको दुई साता बढी भएकाले पनि कोरोना परीक्षण गराउनेको संख्या बढ्दै गइरहेको छ । अझै केही सातापछि जिल्लामा संक्रमितको संख्या अझै बढ्दै जाने जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो–‘संक्रमितको संख्या बढेको बढै छ, लकडाउन अन्त्य भएकाले अझै जोखिम बढ्ने संभावना बढेको छ ।’

कोरोनाबाट ३६ जनाको मृत्यु

चितवनमा सोमबारसम्ममा कोरोना भाइरसबाट ३६ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी भरतपुर महानगरपालिकामा कोरोना संक्रमितको मृत्यु भएको छ । यहाँ २३ जना संक्रमितको मृत्यु भइसकेको छ ।
यस्तै राप्ती नगरपालिकामा ५ जना, रत्ननगर नगरपालिकामा ४ जना, खैरहनी नगरपालिका र कालिका नगरपालिकामा २÷२ जनाको मृत्यु भएको छ ।

यस्तै जिल्लामा कुल संक्रमितको संख्या दुई हजार ७ सय ६४ पुगेको छ । सबैभन्दा बढी संक्रमित भरतपुर महानगरपालिकामा रहेका छन् । यहाँ संक्रमितको संख्या १ हजार ८२३ पुगेको छ । यस्तै सबैभन्दा कम संक्रमित इच्छाकामना गाउँपालिकामा रहेका छन् । यहाँ हालसम्म १७ जना मात्रै संक्रमित रहेका छन् ।

चितवनमा हाल सक्रिय संक्रमितको संख्या एक हजार ९७ रहेको छ । एक हजार ६ सय ३२ जना भने निको भएर घर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>