Breaking News

चितवनको इच्छाकामना ६ कुयालघारीमा पहिलोपटक बिजुली बल्यो

Banner

चितवन,असोज २६-

चितवनको इच्छाकामना गाँउपालिका ६ कुयालघारीमा पहिलोपटक विजुली बत्ती बलेको छ । प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले आज ट्रान्सफर्मरको स्वीच अन गरेर औपचारिक उद्घाटन गर्नुभयो । विजुली बलेसंगै आजदेखि कुयलघारीका ८७ घर उज्यालो भएका छन । गाँउमा पहिलोपटक बत्ती बलेपछि स्थानिय खुसी भएका छन । ३१ लाखको लागतमा ग्रामिण विद्युतीकरण कार्यक्रम अन्तर्गत गाँउमा विजुली बत्ती बालिएको हो । सो ठाँउमा कोरोना कहरका विच पनि विधुतिकरणको काम तीब्र पारिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य पोखरेलले कुयालघारीमा बिजुली बल्दा अत्यन्त हर्षित भएको बताउँदै आफूले गाउँलाई उज्यालो बनाउन गरेको मेहनत पूरा भएको बताउनुभयो । विभिन्न अप्ठेरा र अवरोध पन्छाउँदै लकडाउन र कोरोना कहरकै बीच काम गर्ने विद्युत प्राधिकरण, ठेकेदार कम्पनीलाई धन्यबाद दिँदै उहाँले सडक र विजुली पुगेपछि दुर्गमका समस्या केही कम भएको बताउनुभयो । “म निर्वाचित हुँदा साविकको काउले, दाहाखानी, चन्डिभन्ज्याङमा विजुली पुगेको थिएन, उहाँले भन्नुभयो’,अहिले केही गाँउ बाहेक सबै ठाँउमा विजुली बल्छ ।” उहाँले अर्को बर्ष भित्र इच्छाकामना गाँउपालिकामा विद्युतीकरणको काम सम्पन्न हुने बताउनुभयो ।

इच्छाकामना गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङले बर्षौंदेखिको विजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुसी भएको बताउँदै गाँउमा थप आयआर्जनको बाटो खुलेको बताउनुभयो । सबैको पहल, प्रयास र हातेमालोले गाँउमा ढिलै भएपनि विजुली पुग्दा स्थानीय निकै हर्षित भएको उहाँले बताउनुभयो । उहाँले आधामारा, तिनबाङ र बारसीभन्ज्याङमा विजुली बत्ती बलिसकेको जानकारी दिनुभयो । अझै चार गाँउमा बत्ती बल्न बाँकी रहेको उहाँले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले विजुली नहुँदा कुयलघारीका नागरिकले भोगेको पीडा देखेर आफुहरुले कोरोना कहरकै बीच काम सम्पन्न गराउने अठोट लिएर अघि बढेको बताउनुभयो । सो ठाँउमा ५० केभिएको ट्रान्सफर्मर र डेढ किलोमिटर ११ हजार भोल्टेजको लाइन जडान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले इच्छाकामनाका सबै वडामा विद्युत पुगेको भन्दै बाँकी गाँउमा क्रमशः काम गरिने बताउनुभयो । सो ठाँउमा विजुली बाल्नका लागी २०७६/७७ मा टेण्डर भएर काम अघि बढेको थियो । इच्छाकामना गाँउपालिकामा विद्युतीकरणका लागि केन्द्रिय सरकारले १२ करोड बजेट विनियोजन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>