Breaking News

डा.गोविन्द केसीले तोडे अनसन, यसरी सम्भव भयो ८ बुँदे सहमित

Banner

काठमाडौं, असोज २५–

चिकित्सा शिक्षा र सेवा सुधारका लागि २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले आज (आइतबार) विहान अनसन तोडेका छन् । शनिबार मध्यरातमा सरकारसंग सहमति भएपछि डा.केसीले आज अनसन तोडेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।डा.केसीले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए । सहमतिपत्रको पहिलो बुँदामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भौतिक पूर्वाधार र जनशक्तिको प्रबन्ध गरी आगामी शैक्षिक सत्रदेखि एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सुरु गर्ने उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशमा गेटा मेडिकल कलेज स्थापना गर्न कानुनी व्यवस्था गर्ने सहमति पनि भएको छ । त्यहाँ भौतिक पूर्वाधार र जनशक्ति व्यवस्था गरी २०८० फागुन १० भित्रै पठनपाठन थाल्ने भनिएको छ । त्यसका लागि संसद्को आगामी हिउँदे अधिवेशनमा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पेस गर्ने सहमतिमा उल्लेख छ । प्रदेश २ को बर्दिबासमा सरकारी मेडिकल कलेज स्थापना गर्न शिक्षा मन्त्रालयले बजेट व्यवस्था गर्ने सहमति पनि भएको छ । पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको शैक्षिक कार्यक्रम सुरु गर्न पूर्वाधार निर्माणलाई जोड दिइने भएको छ ।

डोटी वा डडेलधुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न एक वर्षभित्र शिक्षा मन्त्रालयले प्रक्रिया अघि बढाउने सहमति भएको सचिव मैनालीले जानकारी दिए ।

यस्तै सप्तरीस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माणलाई तीव्रता दिने सहमति भएको छ । ‘कोभिड–१९ को उचित व्यवस्थापनका लागि पीसीआर परीक्षण विस्तार गर्ने र कोभिडलगायत अन्य रोगको उपचारका लागि आवश्यकताअनुसार सरकारी अस्पतालको क्षमता विस्तार गर्ने,’ सहमतिको दोस्रो बुँदामा भनिएको छ । अछामको बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेट व्यवस्था पनि गरिने भएको छ ।

विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि कानुनी व्यवस्था गर्ने सहमतिसमेत भएको छ ।

यसरी सम्भव भयो सहमितः

सरकार र डा. केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा. केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।
प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा आईओएमकी डिन डा. दिव्यासिंह शाहमार्फत डा. केसीसँग संवाद अघि बढाएका थिए । सरकारले वार्ता नगरी अनशन मात्र तोड्न आग्रह गरेको भन्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो ।
दुई पक्षीय वार्ता टोलीबीच बिहीबार नै सहमतिको खाका तयार भइसकेको थियो । डा. शाहको पहलमा प्रधानमन्त्री र डा। केसीसँग समन्वय गरेर सहमतिपत्रलाई अन्तिम रूप दिइएको वार्ता टोलीका एक सदस्यले जनाए । शनिबार राति शिक्षण अस्पतालमा वार्ता टोली डाकेर सहमतिमा हस्ताक्षर गरियो । शिक्षामन्त्रीसहितको टोलीलाई भने प्रधानमन्त्री ओलीले नै कोरोनाका बेला वार्ता भनेर भुल्ने समय नभएको भन्दै फिर्ता पठाइदिएका थिए । ‘सरकारी टोली एकातिर, केसीको वार्ता टोली अर्कातिर थियो, त्यसलाई प्रधानमन्त्रीसम्म जोड्ने र कन्भिन्स गर्ने काम दिव्या म्यामले गर्नुभयो,’ डा. केसी पक्षीय वार्ता टोलीका एक सदस्यले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>