Breaking News

चितवन प्रहरीलाई प्रश्नः ‘अदालतबाट जिम्मा पाएपछि संरक्षण गर्नुपदैन ?’

०
Banner

हरिप्रसाद पोखरेल

चितवन, असोज २३–

अदालतले भनेकै दिन उपस्थित गराउने शर्तसहित प्रहरीको जिम्मामा पठाएका दुई किशोर अझैसम्म फरार हुँदासमेत उनीहरुको खोजबीनमा चितवन प्रहरी जिम्मेवार बनेको छैन । यसबीचमा पीडितहरुले अदालतबाट प्रहरीको जिम्मामा आइसकेको चोरी आरोपितलाई किन नियन्त्रणमा लिन नसकेको भन्दै प्रश्न गरेका छन् ।

चोरी आरोपमा मुद्दा खेपेका तीन किशोरलाई ३१ दिनअघि अदालतबाट प्रहरीले आफ्नो जिम्मामा ल्याएको थियो । यसबारे ‘चितवन प्रहरीको लापर्बाही: उपचारको बहानामा चोर फरार’ शिर्षकमा नारायणी अनलाइनमा प्रकाशित समाचारप्रति भने चितवन प्रहरीले आपत्ति जनाएको छ ।
अनलाइनमा प्रकाशित समाचार अनुसार प्रहरीको नियन्त्रणमा चोरी आरोपित कोरोना सङ्क्रमितहरु भरतपुर अस्पतालको आइसोलेसनबाटै फरार भएकोमा सरोकारवाला निकाय गम्भीर नरहेको उल्लेख छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनले एक विज्ञप्ति प्रकाशित गर्दै कुनैपनि घटनाको सत्यतथ्य एवम् अनुसन्धानको मर्मलाई बुझेर मात्रै समाचार सम्प्रेषण गर्न भनेको छ । यसअघि प्रहरीले सञ्चारमाध्यमका लागि प्रकाशन÷प्रसारणका लागि प्रकाशित गरेको विज्ञप्ति चितवनका सञ्चारमाध्यमहरुमा पनि आउने गर्दथ्यो । यसपालि भने आएन । प्रहरीले प्रकाशित गरेको विज्ञप्तिको आधिकारिता जाँच्न भने नारायणी अनलाइनले प्रहरीलाई नै सम्पर्क गर्नुपर्ने अवस्था बन्यो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता तथा सूचना अधिकृत सूर्यबहादुर थापाले भने–‘हामीले बिहीबार विज्ञप्ति निकालेको सत्य हो । तपाईहरुले लेखेको समाचार चाहिँ भ्रामक छ ।’
त्यसोभए चोरीको आरोप लागेका किशोरहरु अहिले कहाँ छन् त भन्ने प्रश्नमा थापाले भने–‘उनीहरु फरार छन् । अझै पक्राउ गर्न सकेका छैनौ । खोजबीन भने जारी छ ।’
प्रवक्ता थापाले उनीहरु आइसोलेसनबाटै फरार हुनुमा पिटुसिटुको लापर्बाही भएको पनि बताए । ‘हामीहरुले पिटुसिटुलाई जिम्मा लगाएका हौँ ।’–उनले भने ।
पिटुसिटुका अध्यक्ष बेलबहादुर गुरूङले भने ती किशोरहरुलाई भदौ २६ गते संस्थामा ल्याएको र २७ गते दुई जनामा कोरोना पोजिटिभ देखिएपछि प्रहरीकै जिम्मामा अस्पतालको आइसोलेसनमा पु¥याएको बताएका छन् ।

चितवन प्रहरीले निकालेको विज्ञप्तिमा पनि अदालतबाट प्रहरीको जिम्मामा आएका तीन किशोरमध्ये एकजना मात्रै प्रहरी नागरिक अभियान नेपाल (पिटुसिटु) मा रहेको उल्लेख छ । अन्य दुई किशोर कहाँ छन् भन्ने बारे विज्ञप्तिमा कतै उल्लेख गरिएको छैन । फरार रहेका दुई किशोरसहित १३ वर्षका अर्का बालकमाथि साउन १५ गते दिपेन्द्रचोकमा र साउन ३१ गते यज्ञपुरीमा चोरी गरेको आरोप छ । फरार भएकाहरु १५ र १७ वर्षका हुन् ।

साउन ३१ गते भरतपुर–४ स्थित नवदूर्गा टोलका रामहरि पौडेलको घरमा करिब सात लाख रुपियाँ बराबरको धनमाल चोरी भएको थियो । भरतपुर–१० दिपेन्द्रचोककी गोमा सापकोटाको घरमा पनि साउन १५ गते करिब १२ लाख रुपयाँ बराबरको धनमाल चोरी भएको थियो । भदौ १७ गते चोरीमा संलग्नमध्येका एक किशोरलाई असई ठाकुर पनेरुले सापकोटाको घरमा ल्याएका थिए । ती किशोरले आफूले चोरी गर्दाको सम्पूर्ण विवरण पीडित सापकोटा र असई पनेरुलाई बताएका थिए । जसको अडियो र भिडियो नारायणी अनलाइनसँग सुरक्षित छ । चोरी भईसकेपछि मुचुल्का गर्दा प्रहरीले अनुसन्धानका लागि घटनास्थलबाट फिंगर प्रिन्ट पनि लगेको थियो ।

ती किशोरले बताए अनुसार पौडेल र सापकोटाको घरमा चोरी गर्नेको समूह एउटै भएको खुलेको छ । तर प्रहरीको फितलो अनुसन्धानले पक्राउ परेका ‘चोर’ हरु पनि अस्पतालबाटै फरार हुन सफल भएका हुन् ।

प्रहरीले भने अदालतको आदेशपछि तीन बालकलाई पिटुसिटु (पुलिस पब्लिक क्याम्पेन फर चिल्ड्रन) मा लगेको थियो । प्रहरीले भदौ २५ गते लेखेको पत्रमा तीन जना किशोरहरुको विवरण उल्लेख गर्दै पिटुसिटुमा राखिदिन आग्रह गरिएको छ । जहाँ अन्य सडक बालबालिकाहरु पनि संरक्षित छन् । प्रहरी र नागरिकको संयुक्त प्रयासमा यो संरक्षण केन्द्र सञ्चालनमा छ ।
अदालतले प्रहरीलाई दिएकोे आदेश अनुसार अदालतले तोकेको तारेखका दिन उनीहरुलाई अनिवार्य रुपले अदालतमा उपस्थित हुनुपर्ने भनिएको छ ।

जिल्ला अदालत चितवनको भदौ २४ गतेको आदेशले चोरी आरोप लागेर मुद्दा चलाईएका तीन जना बालकहरुलाई बालमैत्री वातावरणमा यसै क्षेत्रमा काम गर्ने संस्थालाई जिम्मा लगाउन आदेश गरेको थियो । चोरीको आरोप लागेका तीनैजनालाई वैतनिक वकिल कृष्ण पन्तको जिम्मामा छाडिएको थियो । पन्तले फेरि प्रहरीकै जिम्मामा पठाएका थिए ।

लाखौँ रूपैयाँ नगद र धनमाल चोरी गरेको आरोप लागेका उनीहरु भदौ ३१ गते भरतपुर अस्पतालबाटै फरार भएका हुन् । प्रहरीले पिटुसिटुमा लैजादा कोरोना जाँच नगरी लगेको थियो । पछि उनीहरुमा कोरोनाको लक्षण देखिएपछि एम्बुलेन्सबाट अस्पताल लगिएको हो । अस्पतालको जाँचमा उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि राखिएको थियो । उनीहरु भदौ २७ गते भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । आफ्नो अनुसन्धान र संरक्षणमा रहेका ती किशोरहरु अस्पतालबाटै फरार हुने वातावरण बनेको यो घटनाले प्रहरीको हदैसम्मको लापरबाही भएको सरोकारवालाले बताएका छन् ।

पछिल्लो समयमा चोरीका घटनामा सडक बालबालिकाको प्रयोग हुँदै आएको छ । ठूला चोरले धनमाल लाने, तर यस्ता बालबाबालिकालाई सहयोगीका रुपमा परिचालन गर्ने घटना बढेको छ । दिपेन्द्रचोक र यज्ञपुरीमा भएको चोरीको घटनामा पनि सडकबालबालिकाहरु सहयोगीको रुपमा परिचालित भएको खुलेको हो ।

एकातिर ‘नाबालक चोर’ लाई समाएजस्तो गर्ने तर चोरीको भेद खुल्ने भएपछि ठूला चोरलाई समेत उम्काउन प्रहरीले अस्पतालबाटै ‘चोर’ भगाएको पीडितहरुको गुनासो छ ।

चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले यस घटनालाई गम्भीरतापूर्वक नलिएको पनि पीडितहरुले बताए । ‘प्रहरी कार्यालयबाट मेरो घर एक किलोमिटर टाढा पनि पर्दैन । सय मिटर नजिक रहेको अस्पतालबाट प्रहरीको नियन्त्रणमा रहेका चोर फरार भएका छन् । दिनरात प्रहरीले गस्ती गरिरहने यो ठाउँमा एसपी अझ गम्भीर नदेखिनु लाजमर्दो भयो ।’–पीडित सापकोटाले भनिन् ।

यसअघि पनि भरतपुर अस्पतालकै आइसोलेसनबाट चोरी आरोपित एक युवा भागेर रातारात साइकलमा नुवाकोट पुगेका थिए । प्रहरीको नियन्त्रणमा रहेका उनी पनि कोरोना पोजेटिभ थिए । उनलाई भने प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>