Breaking News

वाग्मती प्रदेशमा पोष्टबहादुर बोगटी सुरुङ्गमार्ग आयोजना कार्यालय स्थापना

Banner

हेटौंडा,असोज २३-

वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी सुरुङ्गमार्ग (भीमफेदी-कुलेखानी)आयोजना प्रभावकारी रुपमा सञ्चालनका लागि आयोजना कार्यालयको आज स्थापना गरिएको छ । हेटौँडास्थित हाल रहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रशासनिक भवनमध्ये तल्लो तल्लामा आयोजना कार्यालयको स्थापना गरिएको हो ।

सो आयोजना कार्यालयको आज प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उद्घाटन गर्नुभयो । वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा-काठमाडौं मार्गअन्तर्गत पर्ने भीमफेदीदेखि कुलेखानीसम्ममा निर्माण हुन लागेको पोस्टबहादुर बोगटी सुरुङ्गमार्ग आयोजनाको कार्यालय स्थापना भएको हो ।

कार्यालय उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री फुयाँलले प्रदेश सरकार अब सुरुङ्गमार्ग निमार्णमा जुटेको छ भन्नुहुँदै सो आयोजना प्रदेशको मात्र नभई सङ्घीय सरकारको समेत सहयोगमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको सुरुङ्गमार्ग तोकिएको समयमै निर्माण सम्पन्न हुने बताउनुभयो ।

तीन दशमलब २१ किलोमीटरका दुई अलगअलग सुरुङ्गमार्ग करिब रु १९ अर्बको लगानीमा करिब साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । तीनवटा पुलसहित दुई सुरुङ जोड्ने एप्रोच सडक निर्माण गरिने जनाइएको छ ।

सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदनअनुसार ३ दशमलव २१ किलोमिटर लम्बाई तथा १५ र ७ मिटर फराकिला दुर्ईवटा सुरुङ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालले जानकारी दिनुभयो । वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माणमा सहकार्य गर्न सङ्घीय सरकारले समेत कार्यदल गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले एक महिनाभित्र प्राविधिक, आर्थिक र कानूनी पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्नु पर्नेछ ।

सरकारले सुरुङमार्गलाई निजगढ-काठमाडौँ द्रूतमार्गसँगसमेत जोड्ने योजना अघि सारेको छ । त्यसो गर्नसके हेटौँडा काठमाडौँको दूरी ५२ किलोमिटरमा छोटिने आयोजनाका नवनियुक्त प्रमुख सिनियर डिभिजन इन्जिनीयर नवीनकुमार सिंहले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>