Breaking News

भरतपुरका पूर्वमेयर पियाको निधन

Banner

चितवन, असोज २१-

तत्कालीन भरतपुर नगर पञ्चायतका प्रधानपञ्च एवम् भरतपुर नगरपालिकाका पूर्वमेयर हिमबहादुर पियाको मंगलबार राति ८१ वर्षको उमेरमा निधन भएको छ ।
दम, उच्चरक्तचापलगायतका रोगबाट ग्रस्त पियाको मृत्युपछि गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको चितवन मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्सालले नारायणी अनलाइनलाई जानकारी दिए ।

१९९६ सालमा तनहूँको बन्दीपुरमा पिता हरिप्रसाद पिया र माता जौकुमारी पियाको सन्तानका रुपमा जन्मिनु भएको पिया २००९ सालमा बसाइँ सरेर चितवन आउनु भएको थियो । भरतपुर नगरपालिका–२ क्षेत्रपुर निवासी पियाको चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत अवस्थामा निधन भएको हो । दिवंगत पियाका तीन छोरी र तीन छोरा हुनुहुन्छ ।

भरतपुरका पूर्वमेयर पियाको निधनप्रति दुःख व्यक्त गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले बुधबार शोक वक्तव्य जारी गर्नु भएको छ । ‘भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुर निवासी तत्कालीन भरतपुर नगरपालिकाका मेयर हिमबहादुर पियाको ८१ वर्षको उमेरमा भएको दुःखद निधनले हामीलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ’ शोक वक्तव्यमा भनिएको छ, ‘दुःखको यस घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’
शोक वक्तव्यमा भनिएको छ, ‘समाजसेवी एवम् विकासप्रेमी हिमबहादुर पिया कुशल नेता तथा इमान्दार जनप्रतिनिधि हुनुहुन्थ्यो । उहाँ २०४३ सालमा भरतपुर नगर पञ्चायतको प्रधानपञ्च र बहुदलीय प्रजातन्त्रको पुनःस्थापना पश्चात् २०५४ सालमा भरतपुर नगरपालिकाको मेयर पदमा विजयी हुनुभएको थियो । भरतपुर लगायत समग्र चितवनको विकासमा अग्रणी भूमिका निर्वाह गर्नुभएका पिया नेपाल रेडक्रस सोसाइटी, बालकुमारी माध्यमिक विद्यालयलगायतका अन्य सामाजिक संघ–संस्थाहरुमा आवद्ध रही समाजसेवामा सधैं अग्रसर हुनुहुन्थ्यो । भरतपुर महानगरको विकासमा पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उहाँलाई भरतपुर महानगरपालिकाले सधैं स्मरण गरिरहनेछ ।’

भरतपुर महानगरपालिकाले पूर्वमेयर हिमबहादुर पियालाई दुई वर्षअघि सम्मान गरेको थियो । एक कार्यक्रमबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पियालाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मानित गर्नु भएको थियो । उक्त कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालको समेत उपस्थिति रहेको थियो ।

यसैबीच, भरतपुर महानगरपालिकाले पूर्वमेयर पियाको सम्मानमा बुधबार भरतपुर महानगरपालिका र मातहतका कार्यालय बन्द गरेको छ । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बुधबार सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गर्दै बुधबार एक दिन भरतपुर महानगरपालिका र मातहतका कार्यालय बन्द रहने जानकारी दिनु भएको हो ।

(यसअघिको प्रकाशित समाचारमा कोरोना रिपोर्ट पोजेटिभ भएकोमा सच्याईएको छ)
–सम्पादक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>